मतदान केन्द्रमा क्यामेरा, मोबाइललगायत निषेधित वस्तु लान नपाइने

30

काठमाडौं । यस पटक पनि मतदान गर्न जाँदा मतदाताले मतदान केन्द्रमा क्यामेरा, मोबाइललगायत अन्य सामग्री सँगै लान नपाइने भएको छ । निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा सो निर्णय गरेको हो ।

आयोगको निर्देशनविपरीत कसैले फोटो खिच्ने, क्यामेरा वा मोबाइल आफ्नो साथमा लगी मत संकेत गरेमा वा मतदान कक्षमा गएमा तत्काल त्यस्तो क्यामेरा वा मोबाइल जफत हुने आयोगले चेतावनी दिएको छ ।आयोगले यस सम्बन्धमा चार बुँदे निर्देशन जारी गरी मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामेरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउन अनुरोध गर्न भनिएको छ । त्यसका लागि प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ बमोजिम सर्वपक्षीय बैठकमा समेत छलफल गराई सार्वजनिक आह्वान र अनुरोध गर्न निर्देशन दिइएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

आयोगको निर्देशनविपरीत मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गर्ने पनि निर्देशनमा उल्लेख गरिएको छ । सलाई, लाइटर, क्यामेरा, मोबाइलजस्ता वस्तु लिई आएमा मतदान केन्द्रको प्रवेश बिन्दुमा राख्ने व्यवस्था मिलाउने वा मतदान केन्द्रबाहिर निजलाई उपयुक्त लागेको स्थानमा राख्न लगाएर मतदान केन्द्र प्रवेश गर्न अनुमति दिने निर्देशनमा उल्लेख गरिएको छ ।

सो निर्देशिका र निर्वाचन आचारसंहिता, २०७९ विपरीत उल्लेखित कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमार्फत मतदान केन्द्रमा खटिने सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई जानकारी गराउने पनि निर्देशनमा उल्लेख गरिएको छ ।