फागुन १६,
काठमाडौं । संघीय संसद सचिवालयले बुधबार सर्वदलीय बैठक बोलाएको छ। संसदको पहिलो बैठकको कार्यसूची लगायतका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई बोलाइएको हो। दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा दुवै सभाका अन्तरिम कार्यविधिबारे छलफल हुनेछ। पहिलो बैठकले पारित गर्नुपर्ने भएकाले कार्यविधिबारे पनि सर्वदलीय बैठकमा छलफल गर्न लागिएको हो। बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको शपथ ग्रहणको तयारीका विषयमा पनि छलफल हुने संसद सचिवालयका प्रवक्ता डाक्टर भरतराज गौतमले जानकारी दिए। दुवै सभाका सदस्यहरुको शपथ फागुन २० गते र पहिलो बैठक २१ गतेका लागि तय गरिएको छ। ुशपथ ग्रहण र बैठकको तयारीबारे पनि दलका प्रतिनिधिलाई स्थलगत जानकारी गराइने कार्यक्रम पनि रहेको छु गौतमले भने। दुवै सदनको पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभा सभामुख र उपसभामुख तथा राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको चयन गरिसक्नुपर्ने भएकाले त्यसको तयारीबारे पनि छलफल हुनेछ। ुप्रधानमन्त्रीले चैत २ गतेभित्र संसदमा विश्वासको मत लिइसक्नुपर्ने भएकाले त्यस विषयमा पनि छलफल हुनेछु प्रवक्ता गौतमले भने।