कञ्चनपुरको भीमदत्तका मेयरले ‘भ्रष्टाचार’ गरेको आरोप

68

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयरलाई भ्रष्टाचार गरेको आरोप लागेको छ। मेयर पदम बोगटीले नगरपालिकामा सल्लाहकार, कर्मचारी नियुक्ति र कर्मचारी सरुवालगायतका कार्यमा आर्थिक अनियमितता गरेको आरोप लागेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयले नगरपालिकासँग कर्मचारी र सल्लाहकार नियुक्त सम्बन्धि विवरण माग गरेको छ। शुक्रबार नगरपालिकालाई पत्राचार गर्दै स्वीकृत दरबन्दी विवरण, नगर कार्यपालिकाबाट नियुक्त गरिएका कर्मचारी विवरण, नियुक्ति प्रक्रिया, सेवासुविधा, नगरपालिकाभित्र कर्मचारी सरुवा सम्बन्धि कागजपत्र माग गरेको हो।

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी, उपमेयर निलम जोशीले सल्लाहकार, कर्मचारी नियुक्ति र कर्मचारी सरुवालगायतका कार्यमा आर्थिक अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो।नगरपालिकाले मेयरको जनसम्पर्क सल्लाहकारमा गौराज लिम्बु, संचार विज्ञमा चक्रसिंह महता, न्यायीक समितिको सल्लाहकारमा टेकबहादुर कठायत, उपमेयर जोशीको प्रशासनिक सल्लाहकारमा सन्तोषी ऐरलाई नियुक्त गरेको छ।

यसैगरी, मेयर बोगटीको नीजि सवारी चालक भएर काम गरिरहेका बसन्त विष्टसहित ३ जनालाई जेठ १० गते ज्यालादारीमा राखिएको थियो। मेयरको सहयोगीको रुपमा उत्तर कुँवर र उपमेयरको सहयोगीको रुपमा कमला साउँद ज्यालादारीमा काम गर्ने गरी नियुक्त भएका थिए।

चालकमा नियुक्त भएका विष्टले जागिर छोडिसकेका छन् भने साउँद र विष्ट अहिले पनि कार्यरत छन्। नगरपालिकाले मेयरको सहजताका लागि नासु नरेन्द्रदेव भट्ट र उपमेयरको सहजताका लागि खरिदार लक्ष्मण भट्टलाई खटाएपनि मेयर र उपमेयरले ज्यालादारीमा काम गर्ने गरि सहयोगी नियुक्त गरेका थिए। मेयरकै कार्यकक्षमा काम गर्ने पावर्ती सिंहलाई यसअघिकी उपमेयर शुशिला चन्द सिंहकै पालामा ज्यालादारीमा राखिएको थियो।