कांग्रेस बैठकः नियमावली मस्यौदा सर्वसम्मतिले पारित

191

असार ३०,
काठमाडौं । पार्टी नियमावली मस्यौदामाथिको छलफल सक्दै नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक श्रावण ७ गतेसम्मका लागि स्थगित भएको छ । अविरल वर्षाका कारण देशभर ठूलो जनधनको क्षति भएकाले राहतमा जुट्न भन्दै बैठक स्थगित गरिएको हो । बैठकमा पार्टी नियमावली मस्यौदामाथि छलफल गर्नुका साथै संघीय संरचनाअनुसार पार्टी संगठनको निर्माण गरेपश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने लगायत १४ वटा एजेन्डा थियो ।

नियमावली मस्यौदामाथि तीन दिन छलफल भएको थियो । छलफलमा आएको सुझावलाई मस्यौदा समितिमा पठाउने र मस्यौदा समितिले सबै सुझावलाई समेटेर सर्वसम्मत पारित गर्ने सर्तमा केन्द्रीय समितिले छलफलमा ल्याएको नियमावली मस्यौदा पारित गरेको नियमावली मस्यौदा समितिको सदस्यसमेत रहेकी केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले बताउनुभएको छ ।

नियमावली मस्यौदाबारे धेरैजासो केन्द्रीय सदस्यहरुले लेबी उठाउने विषयमा बोलेका थिए । ‘मेरो पार्टी म आफैं बनाउँछु’ भन्ने उद्देश्यका साथ नियमावली मस्यौदा समितिले आर्थिक व्यवस्थापनका लागि केन्द्रीय नेतादेखि साधारण सदस्यसम्मले निश्चित लेबी बुझाउने गरी नियमावली तयार पारेको थियो ।
बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयो– ‘जारी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत पार्टीको संशोधित नियमावलीको मस्यौदा उपर आवश्यक सल्लाह गरी प्राप्त सुझावहरुलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी बैठकले सर्वसम्मतिले पारित गरेको छ ।’

तल्लो तहको अधिवेशन, विधानको व्यवस्थाअनुसार क्रियाशील सदस्यता नवीकरण एवं वितरण गर्ने, २०७६ वैशाख २५ देखि जेठ २५ सम्म सञ्चालन भएको पहिलो चरणको हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको एकीकृत प्रतिवेदन प्रस्तुत गरिने र नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण प्रस्तुत गरिने एजेन्डामाथि अब अर्को बैठकमा छलफल हुने भएको छ ।

नेपाली कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका बीच पार्टी समायोजनका सन्दर्भमा भएका कामहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरिने पनि एजेन्डाबारेमा पनि छलफल भएको छैन । केन्द्रीय बैठकको एजेन्डा र आम चासोको विषय रहेको भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान संशोधन र मान्यता प्रदान गर्ने सम्बन्धमा र पार्टी विधानअनुसार अवधि समाप्त भएका भ्रातृ संघहरुका सम्बन्धमा पनि छलफल भएको छैन ।

आइतबारको बैठकमा नेता कृष्णप्रसाद सिटौलाले अविरल वर्षाका कारण आएको वाढीपहिरोपीडितको राहत र उद्धारमा लाग्न केही दिन बैठक स्थगित गर्न प्रस्ताव राख्नुभएको थियो ।-newsofnepal.com