अवैध लागूऔषधसहित ८ जना पक्राउ

44

काठमाडौँ । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

झापाको बुद्धशान्ती गाउँपालिका–३ बुद्धटोलबाट १०२ ग्राम ब्राउन सुगरसहित कचनकवल गाउँपालिका–१ का ३१ वर्षीय मोहमद हुसेनलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा हुसेनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

थप अनुसन्धानको क्रममा उक्त लागूऔषध मेचीनगर नगरपालिका–८ मेची आवास बस्ने २८ वर्षीय बिकाश राजबंशीले खरिद गरी ल्याएको भन्ने खुलेको थियो। त्यसपछि प्रहरीले उनको समेत कोठा तलासी गर्दा थप २५ ग्राम २५० मिलिग्राम ब्राउन सुगर भेटाएको थियो। हाल फरार रहेका बिकाश राजबंशीको प्रहरीले खोजी गरिरहेको छ।

सिरहाको धनगढीमाई नगरपालिका–५ तेतिस बिघास्थित सडकबाट १० ग्राम ९२० मिलिग्राम ब्राउन सुगर र नगद २९ हजार रूपैयाँसहित सोही नगरपालिका–१३ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ। स.८ प २२९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो।

बर्दियाको बढैयाताल गाउँपालिका–२ बैसठ्ठी नम्बर पिलर चोक फुटाहबाट २ ग्राम ८५० ब्राउन सुगरसहित बाँके खजुरा गाउँपालिका–६ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ। भे.१२ प ४१९७ नम्बरको स्कुटरलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

कैलालीको धनगढी उपमहानगरपालिका–१ कारागार नजिकबाट सोही उपमहानगरपालिका–८ बस्ने २४ वर्षीय आयुष सिंहलाई एक ग्राम खैरो हेरोईनसहित शनिबार प्रहरीले पक्राउ गरेको छ।

दाङको लमही नगरपालिका–९ अमिलियाबाट ३९५ ग्राम चरेशसहित जाजरकोट जुनचाँदी गाउँपालिका घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ चनौटे बस्ने १७ वर्षीय किशोर सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ। प्रदेश ३–०२–००२ प ७९२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।