Friday, October 2, 2026
Home अन्तर्राष्ट्रिय इलन मस्क ‘कानुनभन्दा माथि’ छैनन्: अमेरिकी निकाय

इलन मस्क ‘कानुनभन्दा माथि’ छैनन्: अमेरिकी निकाय

163

काठमाडाैँ । अमेरिकाको एक नियामक निकायले सामाजिक सञ्जाल ट्विटरका गोपनीयता तथा गुनासो सुन्ने अधिकारीहरूले राजीनामा दिए पछिको अवस्थालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेको छ।

संघीय व्यापार कमिसन (एफटिसी)ले ट्विटरका नयाँ कार्यकारी प्रमुख इलन मस्क ‘कानुनभन्दा माथि’ नरहेको बताएको हो।

कम्पनीका गोपनीयता तथा गुनासो सुन्नेसम्बन्धी तीन शीर्ष अधिकारीले छोडेपछिको अवस्थाबारे ‘गम्भीर चासोका साथ निगरानी’ गरिरहेको एफटिसीले जनाएको हो।

विश्वका धनी व्यक्ति मस्कले ट्विटर किनेयता विवाद उच्च भएको छ। उनले गत हप्ता कम्पनीका लगभग आधा कर्मचारीलाई बर्खास्त गरेका थिए।

यस्तै, प्रयोगकर्ताले आधिकारिकता जनाउने निलो टिक अर्थात् ब्लु ब्याच महिनाको ७.९९ अमेरिकी डलरमा किन्न सक्ने नियम पनि लागू गरेका छन्। यसले गलत सूचना फैलाउन चाहनेलाई सहयोग गर्ने भन्दै चासो र चिन्ता व्यक्त भएको छ।

ट्विटरका दुई वरिष्ट अधिकारी योएल रुथ र रोबिन व्हीलरले बुधबार राजीनामा दिएका थिए। यस्तै, बिहीबार ट्वीटरका गोपनीयतासम्बन्धी प्रमुख अधिकारी ली किसनरले पनि राजीनामा दिने घोषणा गरेका हुन्।

ट्विटरको आन्तरिक स्रोतलाई उद्धृत गर्दै गोपनीयता तथा गुनासो सुन्नेसम्बन्धी केही अरू अधिकारीले पनि राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यसले प्रयोगकर्ताको गोपनीयता र गुनासो सम्बोधनमा प्रभाव पर्न सक्ने चिन्ता अमेरिकी निकायले गरेको हो।