चितवनका केराले बजार पाएन

59

भरतपुर । यज्ञप्रसाद सुवेदीको भरतपुर–२३ को जगतपुरमा रहेको बगानमा केरा बोटमै पाकेका छन् । भारतीय केराको आयात नरोकिँदा उहाँको बगानमा पाकेका केरासमेत सजिलै बिक्री भएका छैनन् । पहेँलै भएर पाकेका केरा चरा र बाँदरको आहारा बनेका छन् । सुवेदीले ५५ बिघामा केराखेती गर्नुभएको छ । सबैभन्दा धेरै क्षेत्रफलमा केरा लगाउनेमध्येका एक उहाँले केरा बोटमै पाकेपछि चरा र बाँदर धपाउन दुई जना मान्छे नै परिचालन गर्नुभएको छ । “यो सिजनमा केरा बिक्री र मूल्य राम्रो हुने अपेक्षा थियो तर सोचेजस्तो भएन”, उहाँले भन्नुभयो ।

केरा उत्पादक सङ्घ चितवनका पूर्वअध्यक्षसमेत रहनुभएका सुवेदीले उत्पादन प्रशस्त रहेको र बजारको मात्र समस्या रहेको बताउनुभयो । “यो समयमा मेरोमात्रै होइन, नेपालमै उत्पादन भएको केरा पर्याप्त छ, भारतबाट ल्याउन आवश्यक छैन । तर भन्सार छलेर दैनिक १०–१५ गाडी केरा काठमाडाँै भित्र्याइने गरेको छ”, उहाँले भन्नुभयो । केरा उत्पादक सङ्घ चितवनका अध्यक्ष माधवप्रसाद घिमिरे भारतीय केराको आयात नरोकिए जिल्लाका केरा व्यवसायी विस्थापित हुने अवस्था आउने बताउनुभयो । “सरकारले केरा आयात गर्दा एलसी खोलेर मात्र ल्याउन पाउने नियम बनाएको छ । यहाँ विभिन्न नाकाबाट बिना एलसी भारतीय केरा अवैधरूपमा भित्रिएका छन्”, उहाँले भन्नुभयो, “यो समस्या समाधान हुन नसके व्यावसायिकतातर्फ उन्मुख कृषक पलायन हुने अवस्थामा पुग्नेछन् ।” उहाँले यस वर्ष धेरै पानी परेका कारण पनि समस्या भएको बताउनुभयो । “चाडपर्वमा पनि धेरै पानी प¥यो, यसकारण यस वर्ष केराको खपत पनि कम भयो”, उहाँले भन्नुभयो ।

चितवनमा मात्रै वार्षिक २ अर्बको केराको कारोबार हुने गरेको छ । भरतपुर महानगर फलफूल तथा तरकारी बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धिताल चितवनमा भारतीय केरा नआएको बताउनुहुन्छ । अहिले मन्दीका कारण केराको बिक्रीसमेत नभएको उहाँको भनाइ छ । केराको मूल्य प्रतिकोसा रु तीनदेखि चारमा किसानको बारीबाट बिक्री हुने गरेको छ ।

नेपालको उत्पादन तीन लाख आठ हजार तीन सय ८८ मेट्रिक टन छ । यो कुल मागको ६० प्रतिशत रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका कृषि अधिकृत इन्द्र शर्मा ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार ४० प्रतिशत केरा भारतबाट आयात हुँदै आएको छ । “चितवनमा उत्पादन भएको केराकोे मुख्य बजार काठमाडौँ हो”, उहाँले भन्नुभयो, भारतबाट दैनिक आयात हुँदा किसान मर्कामा पर्ने नै भए ।” काठमाडौसँगै चितवनमा उत्पादन भएको केरा पोखरा, बुटवल र दाङमा समेत जाने गरेको छ ।

पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा बढी केराखेती हुने गरेको छ । यस्तै भरतपुर महानगरको ठिमुरा, जगतपुर र मेघौली क्षेत्रमा पनि व्यावसायिक केराखेती गरिएको छ । देशभर केराको कुल माग पाच लाख १४ हजार ५० मेट्रिक टन रहेको छ । यहाँ २१ हजार छ सय ३३ हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ । त्यसमध्ये चितवनमा मात्रै दुई हजार ७६ हेक्टर क्षेत्रमा केराखेती हुन्छ । त्यसमा ४३ हजार एक सय ९३ मेट्रिक टन चितवनमा उत्पादन हुन्छ । नेपालको उत्पादनको २० प्रतिशत केरा चितवनले ओगट्ने गरेको छ ।