अब होटल–रेस्टुरेन्टले मेनुमा भन्दा बढी पैसा लिन नपाउने

69

काठमाडौं । काठमाडौं जिल्ला अदालतले रिसोर्टको बिलमा मेनुमा उल्लेख भएको मूल्यबाहेक मूल्य अभिवृद्धि कर (भ्याट) र सेवा शुल्क शीर्षकमा अतिरिक्त रकम लिन नपाइने फैसला गरेको छ ।

काठमाडौंको बूढानीलकण्ठमा रहेको ग्रिन भ्याली रिसोर्टले मेनुमा उल्लेख भएको मूल्यभन्दा बढी रकम लिएको विषयमा परेको मुद्दामा जिल्ला अदालतले मेनुमा तोकिएको मूल्यका अतिरिक्त सेवा शुल्क बापत १० प्रतिशत र भ्याटबापत १३ प्रतिशत रकम उपभोक्ताबाट असुल गर्न नपाइने फैसला गरेको हो ।

जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले भदौ ५ मा गरेको फैसलामा मेनुको मूल्य तय गर्दा नै भ्याट र सेवा शुल्क जोड्नु पर्नेमा उपभोक्ता संरक्षण ऐन, २०७५ र मूल्य अभिवृद्धि नियमावली, २०५३ विपरीत थप रकम उपभोक्ताबाट असुल गरिनु कानुनले तोकेको शर्त र परिधि नाघी आफूखुसी अनुचित भुक्तानी लिने कार्य भएको ठहर गरेको हो ।

रिसोर्टलाई प्रतिवादी बनाएर पत्रकार मदन ढुंगानाले दायर गरेको मुद्धामा अदालतले मेनु मूल्य बाहेकको अतिरिक्त रकम फिर्ता गर्न, पीडितलाई १० हजार रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ । @onlinekhabar