सडक निर्माणले पर्यटकीय क्षेत्रको यात्रा सहज

108

असार २५,
कञ्चनपुर । सडक निर्माण हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–९ को चुरे क्षेत्रमा पर्ने धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने झिलमिला तालसम्मको यात्रा सहज हुने भएको छ । नगरपालिकाको मटेनादेखि सुगरखालीसम्म कालोपत्रे सडक निर्माणको कार्य अघि बढेको छ । सघन शहरी विकास कार्यक्रमअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीले मटेनादेखि सुगरखालीसम्मको पाँच किलोमिटर सडक निर्माण कार्य ठेक्काबाट गराउन लागेको छ ।

भागेश्वर कन्स्ट्रक्सनले १८ महिनामा निर्माण कार्य पूरा गर्ने गरी रु सात करोडमा ठेक्का सम्झौता गरेको छ । सडकको ट्रयाक खोल्ने कार्य सकिएको छ । झिलमिला ताललाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने लक्ष्य राखेर शुरु गरिएको सडक निर्माण कार्यलाई ताराकोटसम्म पु¥याइने भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । मटेला झिलमिला सडकको ताराकोटसम्म गाडीबाट पुग्न सकिने र ताराकोटबाट तालसम्म पुग्न नौ सिँढी बनाइने छन् । ताराकोटबाट तालसम्मको दूरी झण्डै ९०० मिटर छ ।