व्यवसायीलाई फाइदा पुग्ने गरी एमडीएमएस प्रणाली लागू

25

काठमाडौँ । उपभोक्ता अधिकारकर्मीहरुले सरकारले सीमित मोबाइल व्यवसायीलाई फाइदा पुग्ने गरेर एमडीएमएस प्रणाली लागू गरेको भन्दै आपत्ति जनाएका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणले भदौ २९ गतेदेखि नेपालमा गैरकानूनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न भन्दै मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) सुरु गरेको थियो। तर, सरकारले सीमित व्यवसायीलाई फाइदा पुग्ने गरी (एमडीएमएस) प्रणाली लागू गरेको भन्दै विरोध सुरु भएको हो।

सरकारले बजारमा कार्टेलिङ गर्ने सीमित व्यवसायीहरुको दबाबमा लागू गरेको (एमडीएमएस) प्रणाली उपभोक्ता हित र मौलिक अधिकारको विरुद्धमा रहेको उनीहरुको आरोप छ। उपभोक्ता अधिकारकर्मीहरुले सीमित मोबाइल कम्पनी र व्यवसायीहरुलाई मोबाइल बजारमा एकाधिकार कायम गर्ने गरी लागू भएको प्रणाली तत्काल फिर्ता गर्न माग गरेका छन्।

बुधवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष तथा उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले सीमित व्यक्ति र व्यवसायीहरुलाई फाइदा पुग्ने गरी व्यवसायीहरुको दबाबमा परेर मोबाइल व्यवसायमा कार्टेलिङ गर्ने काम राज्यले नै गरेको आरोप लगाए।

राज्यले सीमित व्यवसायिक घरनाको लागि चुनावको मुखैमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) लागू गर्नु न्यायोचित नभएको उनले बताए। अध्यक्ष तिमिल्सिनाले विदेशमा गएर दुःख गरेर कमाएको पैसाले नेपालमा आउँदा दुई पैसा सस्तोमा मोबाइल ल्याउने अधिकारबाट बञ्चित गरेको बताए।

उनले मोबाइल व्यवसायीहरुले उपभोक्तालाई लुट्न पाउने गरी सरकारले निर्णय गरेकाले मोबाइल व्यवसायीहरुले उत्सव मनाएको बताए।

उनले भने, ‘केही अमुक व्यक्ति र व्यवसायीहरुलाई फाइदा पुग्ने गरी व्यवसायीहरुको दबाबमा परेर मोबाइल व्यवसायीमा कार्टेलिङ गर्ने काम राज्यले गरेको छ। यो न्यायोचित छैन। नेपालको ऐन र उपभोक्ता ऐनले छनोट गर्ने अधिकार उपभोक्तालाई दिएको अवस्थामा खाडी मुलुकबाट फर्किंदै गर्ने नेपाली नागरिकले विदेशमा दुःख गरेर परिवारलाई एउटा मोबाइल लान्छु, जुन नेपालको बजारभन्दा दुई पैसा सस्तो छ भनेर सोच्नेहरुले ल्याउने मोबाइल रोक्नको लागि व्यवसायीहरुको दबाबमा परेर जसले कार्टेलिङ गरिरहेका छन्, उनीहरुको दबाबमा सरकारले एमडीएमस प्रणाली लागू गरेको छ।’