काठमाडौं । ‘केही समयअघि मैले आफू महिनावारी हुने समयतालिका घरको ढोकामा टाँसेँ। त्यो देख्दा त सुरुमा त उहाँहरूले केही अप्ठ्यारो मान्नुभयो। तर अब त उहाँहरूलाई बानी परिसक्यो,’ अल्फिशानले भनिन्। भारतमा त्यसो गर्ने उनी एक्ली महिला होइनन् । उनको सहरका दर्जनौँ महिलाले त्यसैगरी आफ्नो तालिका घरका सबैले देख्नेगरी राखिरहेका छन्।
अल्फिशान दिल्लीबाट १०० किलोमिटर पश्चिममा पर्ने उत्तर भारतीय सहर मेरठमा बस्छिन्। थुप्रै दक्षिण एशियाली देशमा अझै पनि महिनावारीबारे खुलेर कुरा गरिँदैन। केही विकट र जातीय समुदायहरूमा रजस्वला भएका महिलाहरूलाई निर्धारित ठाउँमा अलग्गै बस्न लगाइन्छ र उनीहरूले छुट्टै भाँडाकुँडा प्रयोग गर्नुपर्छ। समयक्रमसँगै यस्ता चलनहरू केही घटेका छन्। अहिले अभियानकर्मीहरूले महिलाहरूलाई आफ्नो महिनावारीको समयतालिका देखाउन र यसबारे उदार बन्न प्रोत्साहित गरिरहेका छन्।
यस कार्यले आफ्नो अधिकारमा परिवर्तन महसुस गराएको अल्फिशानको अनुभव छ। महिलाले महिनावारीको समयमा धेरै समस्या भोग्नुपर्छ। उनीहरूलाई झर्को लाग्ने, कमजोरी हुने लगायत अन्य धेरै किसिमका समस्याहरू हुन सक्छन्। तर मैले समयतालिका घरभित्र राखेपछि सबैलाई मेरो महिनावारीको मितिबारे थाहा हुन थालेको छ। यस खुलापनले अन्य मानिस, विशेषगरी पुरुषहरूलाई महिलाको आवश्यकताबारे थप समानुभूति दिने उनको आशा छ। -बीबीसीबाट