Thursday, September 24, 2026
Home राजनीति राजनीतिक स्थायित्वका लागि सबै दलको भूमिका रहन्छः प्रचण्ड

राजनीतिक स्थायित्वका लागि सबै दलको भूमिका रहन्छः प्रचण्ड

25

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थायित्वका लागि सबै राजनीतिक दलहरुको भूमिका रहने बताएका छन्। काठमाडौंमा शुक्रवार आयोजित योङ कम्युनिष्ट लिग, नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रलाई राजनीतिक स्थायित्व दिन सबै दलहरुले आ–आफ्नो पूर्वाग्रह त्याग्नुपर्ने बताएका हुन्।

उनले सुशासन स्थापना र देशको विकासको निम्ति पनि सबै दलको सामूहिक भूमिका आवश्यक पर्ने उल्लेख गरे। अध्यक्ष दाहालले कुन विचार र नेतृत्वबाट राष्ट्र एकताबद्ध हुन सक्छ भन्ने विषयमा मनन गर्नुपर्ने बेला आएको बताए।

उनले भने ‘हाम्रो देशमा राजनीतिक इच्छाशक्तिसहितको दृढ राजनीतिक नेतृत्वको अभावमा राजनीतिक स्थायित्व कायम गर्न सकिएको छैन अझैपनि। र अनि विकास, निर्माण र सुशासनलाई अगाडी बढ्ने वातावरण निर्माण हुन सकेको छैन। मलाई के लाग्छ भने यो कुनै घमण्डको कुरा होइन, जसले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नको लागि रगतको खोलो बगायो। बलिदानका अनगिन्ति कीर्तिमान कायम गरेर एउटा निश्चित विचार श्रृंखलासहित यहाँ आएको नेतृत्व फेरि एकचोटी नेता र जनताको बीचमा स्थापित नगरीकन, राष्ट्रलाई ठीक ढंगले नेतृत्व नगरीकन जनता र इतिहासको यो आकांक्षा पूरा हुनेवाला छैन। हामीले एकचोटी फेरि संकल्प गर्नुपर्दछ, केही परिवर्तनका वाहकहरुलाई पन्छाएर परिवर्तन बिरोधीहरुको हातबाट यो देशमा सुशासन र विकास असम्भव छ भन्ने कुरा प्रमाणित गर्नको लागि तपाई हामीले चुनौती सामना गर्नैपर्नेछ।’

उनले थपे,‘म अन्य राजनीतिक दलका युवा प्रतिनिधि साथीहरुलाई पनि म विशेष रुपले अपील गर्न चाहन्छु। विभिन्न खालका आग्रह, पूर्वाग्रह हुँदा यो राष्ट्रलाई एकतावद्ध गर्ने, देशको राजनीतिलाई स्थायित्वतिर लैजाने र सुशासन र विकासलाई इमान्दारिताको साथ अगाडी बढाउनको लागि तपाई हामी सबैको भुमिका सामुहिक रुपले आवश्यक भएको छ। तपाई हामी सबैले कुन विचार र कुन नेतृत्वबाट यो राष्ट्र एकतावद्ध हुनसक्छ। यसले देशका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायका भावनालाई प्रतिनिधित्व गर्नसक्छ भन्ने बारेमा चिन्तन गरौँ। मनन गरौँ र त्यो वातावरण बनाउन आ–आफ्नो ठाउँबाट भूमिका खेलौँ।’ उनले देशको राजनीतिक परिवर्तनहरुमा पार्टीको युवा संगठन योङ कम्युनिष्ट लिग, नेपालले महत्वपूर्ण भुमिका निर्वाह गर्ने गरेको भन्दै प्रशंसा समेत गरे।