काठमाडौं । नयाँ नेपाल न्यूजले स्थानीय सरकारको बारेमा जानकारी दिने उद्देश्यले पालिकाको परिचय अभियान सुरु गरेको छ । जसमा आज हामीले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकाको बारेमा जानकारी लिएर आएका छौं । यस नगरपालिकोको मेयरमा शान्ति रत्न शाक्य र उपमेयरमा बिमला सापकोटा दाहाल हुनुहुन्छ ।
बनेपाको भौगोलिक परिवेश
पूर्वमा ‘रक्तचन्दन’ भनिने चण्डेश्वरीजङ्गल, उत्तरमा थागु (माथिको) जङ्गल र दक्षिणमा क्वःगु (तलको) जङ्गलको पृष्ठभूमिमा काठमाडौंबाट करिब २५ कि. मि. पूर्व समुद्री सतहदेखि ४८०० फिट उचाइमा अनि २७.३७ डिग्री अक्षांश र ८१.३१ डिग्री देशान्तरमा रहेको एउटा सानो तर रमणीय उपत्यकामा अवस्थित प्राचीन नगरी बनेपा ऐतिहासिक र धार्मिक क्षेत्र हो । पुरानो बनेपा नगर क्षेत्र पूर्वमा चण्डेश्वरीखोला, पश्चिमबाट दक्षिण हुदै पूर्वतिर बगिरहेको पुण्यमाताखोला अनि पहाड र पर्वत र स-साना गाउहरूले घेरिएको साँगा, नाला, धुलिखेल, श्रीखण्डपुर, चौकोट र पनौतीका बीचमा अवस्थित बनेपा काभ्रेपलाञ्चोक जिल्लाको महत्वपूर्ण व्यापारिक केन्द्र पनि हो । ‘बने’ ले व्यापार र ‘पा’ ले बस्ती भन्ने बुझाउछ । त्यसैले बनेपा व्यापारीहरूको थलो हो ।
बनेपा शब्दको व्युत्पति र यसको इतिहास
बनेपा सहर वणिर्पुर, बनेकापुर, बनेपुर, ब्यनेपे, बिन्यापा, विनयापुरी, विनायकपुरी, वनिंयप्य भनिँदै पछि ‘बनेपा’ हुन आएको हो । नेवार समुदायमा यस सहरलाई भोंदे अथवा भ्वत पनि भन्ने गरिन्छ । भोटसँग पहिल्यैदेखि राम्रो व्यापारिक सम्बन्ध भएका कारणले यसलाई भोंदे अथवा भ्वत भनिएको हुनर्पर्छ । बनेपालाई ‘भुज’ पनि भन्ने गरिन्थ्यो । बनेपामा रहेको लिच्छविकालीन शिवदेव अंशुवर्माको अभिलेखमा यसको चार किल्ला खुलाउदा ‘चन्द्रेश्वर (चण्डेश्वरमहादेव) ङ ग्रामस्तत’ उल्लेख भएकाले बनेपा नै भुजङग्राम हुनुपर्ने देखिन्छ । ‘ङ ग्राम’ भनी उल्लेख भएको यो ठाउ किरातकालमा नै गाउका रूपमा विकसित भइसकेको हुनुर्पर्दछ । किनभने नालङ, साङ, खोप्रिङ आदि ङ, ∙ आएका बस्तीहरूले ती बस्तीहरू किरातकालीन हुन् भन्ने बुझाउछन् । राजा अभय मल्लको शासनकालको चागुनारायणको भण्डारभित्रको ने. सं. ३५७ को एउटा ताडपत्रमा बनेपालाई ‘बनिंयप्य’ उल्लेख गरिएको छ । त्यस्तै, बनेपाका राजा जयार्जुनदेवको नाम उल्लेख भएको ने. सं. ४८५ को एउटा ताडपत्रमा यस सहरलाई ‘विनयापुरी’ उल्लेख गरिएको छ ।
हाल कायम भएको बनेपा नगरपालिका
जम्मा १४ वटा वडाहरू मिलेर बनेको बनेपा नगरपालिकाको क्षेत्रफल ५४.५९ बर्ग कि.मी. रहेको छ । क्षेत्रफलको आधारमा काभ्रे जिल्लाको यो सबै भन्दा सानो नगरपालिका हो भने जनसंख्याको आधारमा काभ्रे जिल्लाको यो सबै भन्दा धेरै जनसंख्या भएको नगरपालिका हो । राष्ट्रिय जनगणना तथा घरधुरी सर्वेक्षण बि.सं. २०७८ को प्रारम्भिक नतिजा अनुसार बनेपा नगरपालिकाको जनगणना घर संख्या १२५४५, परिवार संख्या १६९७३, पुरूष ३३१८० र महिला ३४४४९ गरि जम्मा ६७६२९ रहेको छ । बि.सं. २०६८ को जनगणना तथा घरधुरी सर्वेक्षण अनुसार जम्मा घरधुरी संख्या १२१०६ भएको यस नगरपालिकामा पुरूष २७३०५ र महिला २८३२३ गरि जम्मा ५५६२८ जनसंख्या रहेको छ ।
क्र.सं. | पद | नाम थर |
---|---|---|
१ | प्रमुख | श्री शान्ति रत्न शाक्य |
२ | उप प्रमुख | श्री बिमला सापकोटा (दाहाल) |
३ | सदस्य (वडा नं. १) | श्री कमल प्रसाद घिमिरे |
४ | सदस्य (वडा नं. २) | श्री राम प्रसाद घिमिरे |
५ | सदस्य (वडा नं. ३) | श्री रमेश दाहाल |
६ | सदस्य (वडा नं. ४) | श्री श्यामसुन्दर श्रेष्ठ |
७ | सदस्य (वडा नं. ५) | श्री बलराम अधिकारी |
८ | सदस्य (वडा नं. ६) | श्री सचितानन्द के.सी. |
९ | सदस्य (वडा नं. ७) | श्री हिटलर शाक्य |
१० | सदस्य (वडा नं. ८) | श्री शुभलक्ष्मी मानन्धर |
११ | सदस्य (वडा नं. ९) | श्री नृपेश वादे |
१२ | सदस्य (वडा नं. १०) | श्री चन्द्र बहादुर खड्का |
१३ | सदस्य (वडा नं. ११) | श्री शिब कुमार थापा |
१४ | सदस्य (वडा नं. १२) | श्री राम बहादुर कुँवर |
१५ | सदस्य (वडा नं. १३) | श्री रामलाल दुवाल |
१६ | सदस्य (वडा नं. १४) | श्री टुल्कु लामा |
१७ | महिला सदस्य | श्री शुमद्रा बजगाईं |
१८ | महिला सदस्य | श्री समिता थापा |
१९ | महिला सदस्य | श्री ज्योती वोगटी |
२० | महिला सदस्य | श्री सरीता कुमारी श्रेष्ठ |
२१ | महिला सदस्य | श्री द्रौपदा खत्री क्षेत्री |
२२ | दलित वा अल्पसंख्यक सदस्य | श्री बिक्रम भुजेल |
२३ | दलित वा अल्पसंख्यक सदस्य | श्री कमला परियार |
२४ | दलित वा अल्पसंख्यक सदस्य | श्री रबिन्द्र सुनार |
२५ | सदस्य सचिव | श्री प्रकाश आचार्य |