प्रदेश १ द्वारा विभिन्न कार्यविधि स्वीकृत

30

विराटनगर । प्रदेश सरकार मातहत रहेका अस्पताल तथा आयुर्वेद औषधालयको नाम संशोधन गर्ने लगायतका कार्यविधि एवं निर्देशिका प्रदेश १ सरकारले स्वीकृत गरेको छ।

मंगलबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न मन्त्रिपरिषद्को बैठकले औषधालयको नाम संशोधनसहित विभिन्न ६ वटा विषयमा निर्णय गरेको हो। बैठकपछि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बैठकले महालेखा परीक्षकको चौधौँ वार्षिक प्रतिवेदन, २०७९ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको जानकारी दिए। त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्ताव गरेको जनतासँग मुख्यमन्त्री कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ पनि बैठकले स्वीकृतमन्त्री कार्कीले बताए।

बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रस्ताव गरेको हामी स्वयंसेवी अभियान कार्यविधि, २०७९ पनि स्वीकृत गरेको मन्त्री कार्कीले जानकारी दिएका छन्। बैठकको निर्णयबारे जानकारी दिँदै मन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्ताव गरेको सार्वजनिक खर्चको मापदण्ड र मितव्ययिता सम्बन्धी निर्देशिका, २०७९ को मस्यौदा र सोही मन्त्रालयको विज्ञसहितको राजश्व अध्ययन कार्यदल गठन गर्ने सम्बन्धको प्रस्ताव पनि बैठकले स्वीकृत गरेको जनाए।