साउदी पुगेका दर्जनौं नेपाली युवा अलपत्र

99

दोहा । आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका ५३ जना नेपाली युवा अलपत्र परेका छन् । उनीहरू करिब ९ महिनाअघि त्यहाँ पुगेका थिए । करिब एक महिना अघि रियादस्थित नेपाली दूतावासका प्रतिनिधि, पीडित नेपाली युवाहरू र त्यहाँ पुगेका वर्क फोर्स सर्भिसेज प्रालिका मेनेजर कमलेस तिवारीबीच साउदी अरेबियामा अलपत्र ५३ नेपाली युवालाई नेपाल फर्काउने सहमति गरेपनि अहिले मेनेजर तिवारीले चासो दिएका छैनन् ।

त्रिपक्षीय छलफलमा वर्क फोर्सका मेनेजर तिवारीले १७ जनालाई दूतावासले एक्जिट भिसा प्रक्रिया पूरा गरिदिने र म्यानपावरले हवाई टिकट व्यवस्था गरी नेपाल पठाउने, काम गर्ने इच्छा भएका युवराज रावत, तेजबीर खत्री, लोकेन्द्रबहादुर बिष्ट र शान्तबीर पाख्रिनलाई नियम अनुसारको सुविधा हुने गरी काममा पठाउने र बाँकी काम गर्न अनिच्छुकलाई म्यानपावरले रोजगारदातासँग समन्वय गरी नेपाली पठाउने सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

तर, अहिले साउदीमै रहेका मेनेजर तिवारीले खाना खाने पैसासमेत नदिएको कारण पीडितहरू भोक भोकै बस्न बाध्य भएको र खानाकै कारण धेरै साथीहरू बिरामी पर्न थालेको पीडित सुनसरीका महमद राम्जान मियाले बताए । अर्का पीडित अनिल चौधरी विगत ७-८ दिनदेखि गम्भीर बिरामी हुँदा पनि तिवारीले बेवास्ता गरेको उनीहरुले आरोप लगाएका छन् । आफूहरूले सम्पर्क गर्दा अहिले फोन नउठाउने र उठाई हाले पनि अब आफूले केही गर्न नसक्ने भनेर गैर जिम्मेवार जवाफ फर्काएको मियाले गुनासो सुनाए ।