मन्त्री फेर्न माग

54

काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र पनि मन्त्री परिवर्तन गर्नुपर्ने आवाज उठेको छ। अहिले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाई पार्टीबाट नयाँ मन्त्री पठाउनुपर्ने माग केही सांसदहरूले राखेका छन्। सोमबार बेलुकी काठमाडौंको रातोपुलस्थित एक घरमा बसेको बैठकमा पनि मन्त्री फेर्नुपर्ने विषयले प्रवेश पाएको थियो। जसपाका कार्यकारिणी समितिका सदस्यहरू सहभागी बैठकमा मन्त्री फेर्नुपर्ने माग उठेपछि यसबारे छलफल भएको थियो।

जसपा नेता मृगेन्द्रकुमार सिंहका अनुसार पार्टीका बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूको छलफलमा मन्त्री फेर्नेबारे कुराकानी भएको हो। ‘मन्त्री फेर्नेबारे सोमबार छलफल भएको हो। क(कसलाई मन्त्री बनाउन सिफारिस गर्ने भन्ने निर्णय अध्यक्ष उपेन्द्र यादवले लिनुहुनेछ,’ उनले सेतोपाटीसँग भने। जसपामा पनि छ महिनाका लागि मन्त्री पठाइएको दाबीसहित मन्त्री परिवर्तनका आवाज उठेका छन्।

‘अहिले मन्त्री रहेका साथीहरूलाई छ महिनाका लागि भनेर पठाइएको थियो। एकीकृत समाजवादीले पनि आफ्ना मन्त्री फिर्ता बोलाई नयाँ मन्त्री पठाइसक्यो,’ उनले भने, ‘जसपाले पनि नयाँ मन्त्री पठाउनुपर्दछ।’ जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादव मन्त्री छन्। एकीकृत समाजवादीले पठाएका नयाँ मन्त्रीले सोमबार सपथ लिएर कार्यभार सम्हालेका थिए।