नेपालमा पनि आलु रोप्ने र खन्ने मेसिन आयो

112

वीरगञ्ज । आलु लगाउने, गोडमेल गर्ने र खन्ने सिजनमा बाराको फेटा गाउँपालिका-१ त्रिवेणीका किसान पारस ठाकुरलाई हैरान हुन्थ्यो । किनभने आलु लगाउँदा होस् वा खन्दा धेरै श्रमिक र समयको खर्च हुन्थ्यो । तिनै श्रमिक पनि आफूलाई आवश्यक परेको बेला पाइन्नथ्यो । तर आलु रोप्ने र खन्ने मेसिन (पोटाटो प्लान्टर र पोटाटो डिगर)को प्रयोगपछि भने उनी खुशी छन् ।

यसपालि उनले १२ कठ्ठामा आलु रोप्न अनि खन्न मेसिनको प्रयोग गरे । ‘मेसिनको प्रयोगपछि एकदमै राहत महसुस गरेको छु,’ उनले भने, ‘एकातिर परम्परागत विधिबाट भन्दा डेढ गुणा बढी आलु उत्पादन भएको छ भने अर्कोतिर समय र पैसाको बचत भएको छ ।’

आलु रोप्न, गोडमेल गर्न र खन्ने को काम मेसिनले नै गरिदिएको उनी बताउँछन् । ‘१२ कठ्ठामा आलु रोप्न २० जना मानिस, गोडमेल गर्न १२ जना र खन्नका लागि ४८ जना जति ज्यामी प्रयोग गर्थें । उनीहरुले ५ किलो धान ज्याला लिन्थे । माटो पुर्नेलाई ५ सय रुपैयाँ प्रतिकठ्ठा ज्याला दिनुपर्थ्यो,’ उनले भने, ‘अहिले भने यी सबै काम मेसिनबाट हुन्छ ।’

आलु लगाउँदा ७० देखि ७५ प्रतिशत ज्यामी खर्च बचत भएको उनी बताउँछन् । यो प्रविधिबाट एकदमै खुशी लागेको उनले बताए । ‘ज्यामीको भरमा आलु खेती गर्दा ज्यामी खर्च बढी नै लाग्थ्यो । डोरी तानेर धर्का लगाउने, आलु रोप्ने, पुर्ने, गोडमेल गर्ने, खन्न र टिप्न सबै कामका लागि जन नै चाहिन्छ,’ उनले भने, ‘प्रविधिको प्रयोगबाट ७०/७५ प्रतिशत ज्यामी खर्च बचत भएको छ । त्यो हाम्रो लागि आम्दानी नै हो ।’

यस वर्ष १२ कठ्ठाबाट १ लाख ३० हजार रुपैयाँको आलु बिक्री गरेको उनले बताए । ‘१२ कठ्ठाकै आलु बिक्री गर्दा मुस्किलले ६०र७० हजार रुपैयाँ आउँथ्यो, ढिलोगरी पुस महिनाको पहिलो साता आलु लगाएका थियौं,’ उनले भने, ‘१ लाख ३० हजार रुपैयाँ लियौं, ज्यामी खर्च १८ हजार लागेकोमा ६ हजारले पुग्यो ।’ दुई जना छोरा आधुनिक मेसिन चलाउन र मर्मत गर्न सिपालु भएका कारण आफूलाई झन् सहज भएको उनले सुनाए । अनलाइन खबरबाट