Friday, September 18, 2026
Home समाचार यार्सागुम्बा संकलनका लागि गएपछि गाउँबस्ती सुनसान

यार्सागुम्बा संकलनका लागि गएपछि गाउँबस्ती सुनसान

109

जुम्ला : मुख्य आर्थिक स्रोतको रूपमा रहेको यार्सागुम्बा संकलनका लागि सर्वसाधारण पाटनतर्फ लागेपछि गाउँघर सुनसान भएका छन्।तातोपानी, गुठीचौर, तिला, पातारासी लगायत ग्रामीण क्षेत्रका बासिन्दा यार्सागुम्बा संकलनका लागि गएपछि गाउँबस्ती सुनसान भएका हुन्।

स्थानीय तहको निर्वाचन सकिएलगत्तै युवायुवतीदेखि वृद्धवृद्धासम्म पाटनतिर लागेको पातारासी गाउँपालिका २ तल्फीका वर्ष ५९ का भैरव बोहराले बताए। महिलाहरू साना नानी च्यापेर यार्सा संकलनका लागि गएको उनले बताए।‘१८ वर्ष भन्दा माथि ५० वर्ष मुनिका सबै यार्सागुम्बा संकलन गर्न गएका छन्’, उनले भने, ‘तल्फी, हुरीमहरी, पेरे, गडिगाउँचौर, छुमगाउँ सबै मानिस घरमा ताला लगाएर हिँडेका छन्।’खेतीपातीले वर्षभर खान नपुग्ने भएकाले यार्सा संकलन यहाँको जीविकोपार्जनको प्रमुख स्रोत मानिएको छ।यार्सा टिप्न सक्नेले एक मौसममा ५० हजार देखि चार लाखसम्म कमाउँछन्।पातारासी २ का ६८ वर्षका कालिबहादुर सार्कीका अनुसार यार्सागुम्बा टिप्न गएका सबै कमाएर फर्किँदैनन्। ‘कतिपय ऋण लगाएर फर्किन्छन्। कोही लेक लागेर बिच बाटोमै मर्छन्’, उनले भने, ‘आमदानी गरेर फर्किनु ठूलो युद्व जित्नुबराबर मानिन्छ।’यार्सागुम्बा टिप्न जाने काम जोखिमयुक्त भएकाले पाटन जाने अघिल्लो दिन घरमा धामीझाँक्रीसँग देवता भाकल गरिन्छ। धामीले दिएको दिन र साइतअनुसार उनीहरू यार्सा संकलनका लागि निस्किन्छन्।