कविताः मलाई छोरो हुन मन छ

232

पवित्रा आर्चाय,

हरेक सेकेन्ड
म यो समाज नियालि रहन्छु
थाहा छैन के सोच्छन मान्छे हरुले
तर मेरालागि यो समाजले
आफ्नै बेग्लै नीति बनाई दिएको छ
मैले तिम्रो समाजको त्यो निति
जसरी भए पनि शिर झुकाएर मान्नुपर्छ ।

उसको निति ले मलाई भनिरहन्छ
मेरो हरेक पाइलामा झकझक्याई रहन्छ
मलाई पनि हिजोआज यस्तै लाग्छ
हिड्दा म छोरी हु बिस्तारै हिड्नु पर्छ
बोल्दा म छोरी हु बिस्तारै बोल्नु पर्छ
म पुरुष साथि संग बोल्न हुदैँन
म घर बाट राति काहीँ हिड्न हुदैँन
अफिस बाट घर फर्किन साझ भए
मेरो भाइ मलाई साथि बन्न जानू पर्छ।

मलाई यो पनि यही समाजले सिकाएको छ कि,
मैले मन लागेको लुगा लगाउन पाउदिन
म मेरो दाइ भन्दा छिटो बिहे गर्न पर्छ
नभए म बुढि कन्याको उपनाम पाउछु
जस्तो घर परोस म सहेर बस्नु पर्ने
नभए म घर गर्न नसक्ने हुन्छु
श्रिमानको आयु म भोकै बसेर
दिर्घायु बनाउन पर्छ
नभए म बोक्सिनि अलछिना हुन्छु ।

कस्तो बिडम्बना म जन्मिएको मेरो समाज
राम्री भए म अश्लील शब्द हरुको सम्मानले
विभिन्न अनेकौं उपनाम पाउछु
नराम्री भए बोक्सि हुन्छु
छोरो नजन्माए म कुल बचाउन नसक्ने बन्छु
छोरी जन्माए म बल्कृत कि आमा बन्छु
उफ अब अत्ति भयो,
थाके
हारे
तिम्रो समाज पढ्दापढ्दै
मेरो यो कोमल मन
यो सानो मस्तिष्क
एकोहोरो भईसकेको छ
म पागल बनिसकेकी छु
भयो
अब सहने सामर्थ्य छैन म सँगै
अब त मलाई पनि केवल
तिम्रो समाजको स्वतन्त्र छोरो बन्न मन छ।