बलात्कारको आरोपमा फरार प्रिन्सिपल पक्राउ

195

काठमाडौँ । नेपाल प्रहरीले इटहरीस्थित ब्लुमिङ लोटस् ईङ्लिस स्कुलमा अध्ययनरत छात्रालाई बलात्कार गरेको अभियोगमा फरार रहेका सोही स्कुलका तत्कालीन प्रिन्सिपल ४ वर्षपछि काठमाडौंबाट पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–५ स्थित स्कुलका तत्कालीन प्रिन्सिपल राजकुमार खड्का १५ वर्षीय छात्रालाई २०७४ साउन २६ मा गेस्ट हाउसमा लगेर बलात्कार गरेको कसुरमा पीडितका तर्फबाट प्रहरीमा किटानी जाहेरी परेपछि फरार थिए ।
सिन्धुली कमलामाई स्थायी घर भएका खड्कालाई जाहेरीको करिब ४ वर्षपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले बिहीबार त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । आफूले भनेको नमाने स्कुलबाट निकालिदिने धम्की दिँदै खड्काले छात्रामाथि बलात्कार गरेका थिए । त्यसपछि घटना सार्वजनिक नगर्न उनले छात्रालाई पटक(पटक धम्की दिएको र उनको मानसिक यातना खेप्न नसकेर छात्राले अध्ययन गरिरहेको स्कुल छाडेर अन्यत्रै भर्ना भएकी थिइन् ।