तिलोत्तमाको मेयरमा कांग्रेस, उपमेयर एमाले बिजयी

46
नवनिर्वाचित मेयर रामकृष्ण खाँण र उपमेयर जगेश्वरी देवी चौधरी ।

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँण निर्वाचित भएका छन् । एमालेका मोहन चापागाईलाई ७६५ मतान्तरले पराजित गर्दै खाँण मेयरमा निर्वाचित भएका हुन् । खाँणले २४ हजार ३९६ मत पाएर निर्वाचित हुंँदा चापागाईले २३ हजार ६३१ मत पाए ।

मेयरमा निर्वाचित खाँण २०७४ को चुनावमा एमालेका बासुदेव घिमिरेसँग पराजित भएका थिए । अघिल्लो चुनावमा राष्ट्रिय जनमुक्ति पार्टींसँग गठबन्धन गरेको कांग्रेसले यसपटक माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो । उपमेयरमा भने एमालेकी जगेश्वरी चौधरी निर्वाचित भएकी छन् । चौधरीले माओवादी केन्द्रका हेमन्त पाण्डेलाई दोब्बर मतान्तरले पराजित गरेकी हुन् । चौधरीले २३ हजार ८६ मत पाएर निर्वाचित हुँदा पाण्डेले ११ हजार ५४६ मत पाए ।

१७ वटा वडा रहेको तिलोत्तमामा नेपाली कांग्रेसले ९ र नेकपा एमालेले ८ वटा वडा जितेको छ । ८५ हजार ७४७ मतदाता रहेको तिलोत्तमामा ६४ हजार ७३६ मत खसेको थियो । वडा नं १ मा एमालेका फर्सुराम गिरी, २ मा कांग्रेसका डिलबहादुर भट्टराई, ३ मा कांग्रेसकै कल्याण पौडेल, ४ मा एमालेका हरिबहादुर क्षेत्री र ५ मा कांग्रेसका रमेश डुम्रे बिजयी भएका छन् ।

यस्तै तिलोत्तमा वडा नं ६ मा कांग्रेसका गणेश पाठक, ७ मा एमालेका देवी पंगेनी, ८ मा एमालेका कृष्ण पौडेल, ९ मा कांग्रेसका ध्रुव न्यौपाने, १० मा एमालेका गेपालप्रसाद घिमिरे, ११ मा एमालेका विष्णु बराल, १२ मा एमालेकै सहदेव थारु निर्वाचित भएका छन् । वडा नं. १३ मा कांग्रेसका नारायण ढकाल, १४ मा कांग्रेसका अश्विन पौडेल, १५ मा एमालेका खेमराज गुरुङ, १६ मा कांग्रेसका झविलाल भुषाल र १७ मा पनि कांग्रेसकै दानबहादुर चौधरी विजयी भएका छन् ।