गौरीगञ्ज गाउँपालिकाको प्रमुख पदमा दुवै जना महिला निर्वाचित

115

जेठ ९,

झापा : गौरीगञ्ज गाउँपालिकाको प्रमुख पदमा दुवै जना महिला निर्वाचित भएका छन्। गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकी फूलवती राजवंशी र उपाध्यक्षमा नेकपा एमालेकी पूजन न्यौपाने कुँवर निर्वाचित भएका छन्। राजवंशीले निकटतम प्रतिस्पर्धी एमालेका विजय कुमार अग्रवाल र निवर्तमान गाउँपालिका अध्यक्ष राप्रपाका बाबुराजा श्रेष्ठलाई पराजित गरेका हुन्। राजवंशीले ५ हजार ६८९ मत ल्याउँदा अग्रवालले ३ हजार ३३० र श्रेष्ठले ३ हजार ३०७ मत ल्याएका छन्। अध्यक्ष पदकी उम्मेदवार माओवादी केन्द्रकी मेनुका राजवंशीले १ हजार ३३६, जसपाका घनश्याम रिजालले ६४९, जनमत पार्टीकी कौशिला देवी महतोले ५३१ र एकीकृत समाजवादीका भूप नारायण राजवंशीले १३ मत ल्याएका छन्।

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा एमालेकी न्यौपानेले निकटतम प्रतिस्पर्धी कांग्रेसका मखना महतोलाई पराजित गरेकी हुन्। न्यौपानेले ४ हजार ७५५ मत ल्याउँदा महतोले ३ हजार ७९५ मत ल्याएका छन्।
माओवादीका विद्या नन्दसिंह राजवंशीले ३ हजार ३५१, राप्रपाकी रानी सोरेनले १ हजार ६९२, जनमत पार्टीका गोपाल प्रसाद गिरीले ५३८, स्वतन्त्रका जयचन्द्र रायले ९४, जसपाका मन्नीदेवी पासवानले ९२ र स्वतन्त्र सुजन थापाले ३१ मत ल्याएका छन्। त्यसैगरी गाउँपालिका वडा नम्बर १ मा वडा अध्यक्ष पदका लागि पुनः मतगणना भइरहेको छ। वडा १ मा कांग्रेसका परशुराम काफ्ले र एमालेका कार्तिक लाल राजवंशीको मत बराबरी आएकोले पुनः गणना भइरहेको जनाइएको छ। वडा २ मा माओवादीका किनालाल राजवंशी, वडा ३ मा एमालेका श्रवण गिरी, वडा ४ मा एमालेका फेका प्रसाद गिरी, वडा ५ मा एमालेका विजय प्रसाद सिंह र वडा ६ मा कांग्रेसका बद्री नारायण यादव वडाध्यक्षमा निर्वाचित भएका छन्।