कविता: बा …को टोपी

83

-जानु काम्बाङ्ग लिम्बू

उहिले, उहिले
माङ्गले थेगू उभ्याएपछि
उभिएको हो रे हाम्रो पनि
मनमा आस्था र विश्वासको हिमाल !!

मलाई पनि मेरो देशको सगरमाथा
र बाको सिरको टोपी उस्तै लाग्थे i
उभिरहन्थ्यो
बाको टोपी सगरमाथा जस्तै
हमेसा बाको सिरमा

सायद !
टोपी बाको सान थियो
न्यानो कपास थियो
स्वाभिमान थियो

बाको टोपी र बा
हाम्रा निम्ती हिमाल थिए
बा ढलेपछि हाम्रो पनि
आस्थाको हिमाल ढल्यो

बा संगै, बाको त्यो रंगिन ढाका टोपीमा
पोको परेर गए
आमाका कयौं अधुरा सपनाहरू
बेरंगी भै सेतो कात्रो माथि
छरिए हाम्रा सारा हिम्मत, साहास र आदर्शका उक्तिहरू

टोपीको चोलुङ्ग संगै
ढल्यो हाम्रो मूल खम्बाको चोलुंग
बाको सिर उठाउने मुन्धुम र चोलुंग
उठाउने मुन्धुम संगै
पोको पारियो सी-मुन्धुमहरू
छुट्याईयो बा र हाम्रो हँसको अंस बंडा
याबोंगहरू ( भुटेको धानहरू ) छरेर
लगाईयो बाटो बालाई
चिरेर घुङ्ग्रिङ्ग छुट्याईयो बा र हामीलाई
ठोकेर सिलाम साक्माले छेकियो बा
फर्की आउने बाटोहरू

त्यहि दिनदेखि बा फर्की आएन फेरि
बिलायो मुन्धुम संगै बाको छाँया
तप्कियो अनगन्ती आँसुका थोपाहरू
आमाको आँखाबाट
र बिलायो बाको न्यानो स्नेह
खोज्दै उनि भित्र भित्रै …..

जल्यो बा संगै बाको टोपी
उड्यो धुँवा संगै माथि माथि
अस्तायो जिन्दगीको आधा जून, घाम
टुटेर झरे हजारौं रंगहीन ताराहरू
आमाको आँगनमा

धुँवामा बा उडे
खरानीमा बग्यो बाको टोपी
सम्झनामा झुण्डियो बाको पुरानो तस्बिर
लेखियो सिलालेखमा बाको नाम
स्वर्गीय, फलाना
जन्म मिती यति, यति
मृत्यु मृत्यु, यति

आज, त्यै चौतारोमा भरिया दाईले
भारि बिसाएर
पुछ्दै होला दुखको पसिना
हाम्रा बाले जस्तै, मैलो टोपीले ……………

ताप्लेजुङ्ग