कोइलाको भाउ बढेपछि बिजुली महँगिएको घिसिङको भनाइ

56
नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ

चैत १०,
काठमाडौं : नेपाल विद्युत प्राधिकरणले भारतबाट प्रति युनिट ३८ रुपैयाँमा बिजुली किन्ने भएको छ। प्राधिकरणले पत्रकार सम्मेलन आयोजना गर्दै बिहीबार राति १२ बजेर १५ मिनेटदेखि लागू हुनेगरी ३८ रुपैयाँ प्रतियुनिट बिजुली खरिद गर्न लागिएको जनाएको छ। कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले सुक्खायाम भएकाले स्वदेशमा उत्पादन कम हुने हुँदा माग धान्नका लागि दैनिक ३ देखि साढे ३ सय मेगावाट बिजुली आवश्यक रहेको बताए। भारतको ७० प्रतिशत बिजुली कोइलाबाट उत्पादन हुने र कोइलाको भाउ बढेपछि बिजुली महँगिएको घिसिङको भनाइ छ। रुस युक्रेन युद्धका कारण विश्वभर कोइलाको भाउ महँगिएको छ।

‘अहिले केही समयका लागि समस्या भएको छ’, पत्रकार सम्मेलनमा घिसिङले भने, ‘जेठपछि उत्पादन बढ्छ र यो समस्या आउँदैन हामीलाई हाम्रो उत्पादनले पुग्छ।’करिब ७ देखि ८ महिना विद्युत आयात गर्न नपरे पनि सुक्खायाममा ४ देखि ५ महिना भारतबाट बिजुली ल्याउनुपर्ने बाध्यता छ। अहिले माग धेरै छ, उत्पादन कम छ, त्यसैले अहिले अत्यधिक महंगो भए पनि प्राधिकरणले भारतबाट बिजुली ल्याउँछ, लोडसेडिङ हुन दिँदैनौ।’

अहिले भारतबाट बिजुली ल्याउन नसकेकाले एक दुई दिन उद्योगमा बिजुलीको आपूर्ति गडबड भएको घिसिङको भनाइ छ। ‘अहिले महंगोमा किनेर भए पनि हामी बिजुली उपलब्ध गराउँछौँ, घिसिङले भने, याे ग्लोबल क्राइसिस हो, छिट्टै समाधान हुन्छ भन्ने विश्वास लिएका छौं। यसअघि प्राधिकरणले प्रतियुनिट ४ देखि ६ भारतीय रुपैयाँमा खरिद गर्दै आएको थियो।