दक्ष जनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्प गर्नुपर्ने

114

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्प गर्नुपर्ने बताएका छन्। निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) को नेपालगञ्जमा जारी सातौं महाधिवेशनमा बोल्दै सार्वजनिक तथा निजी शिक्षण संस्थाले दक्ष जनशक्ति उत्पादन गर्नेमा संकल्प गर्नुपर्ने बताएका हुन्। राज्यको ३० प्रतिशत व्ययभार बोकेको निजी शिक्षण संस्थाले विद्यार्थीलाई संस्कार र संस्कृति सिकाउनुपर्ने बताउँदै वर्तमान अवस्थामा संस्कार र संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गरे। ‘विज्ञहरूले नैतिक शिक्षा विषयका रूपमा राख्नुपर्छ भन्नुभयो भएको छ’, उनले भने, ‘आजभोलि समाजमा अराजकता र अश्लीलता बढेर गएको छ, जिम्मेवारीबोध कम हुने, अधिकारको खोजी मात्रै हुने, आफ्नो भूमिकालाई बिर्सने संस्कार र संस्कृति बढेर गएको छ, यसलाई नियमन गर्ने भनेको शिक्षा हो।’शिक्षालाई व्यवस्थित गरी उत्पादन जनशक्तिलाई अनुशासन बनाउन सके बिग्रँदै गएको संस्कार र संस्कृतिलाई लयमा फर्काउन सकिने बताए। मन्त्रालयले कुनै पनि शिक्षालाई विभेद नगर्ने बताउँदै बन्दै गरेका ऐन शिक्षामैत्री बन्ने उनले बताए।