कविता: म अझै मरेको छैन

211

– किरण न्यौपाने
हिजो
म अलिकती माथि थिएँ
माथि माथि चढ्न
सँधै अगाडि बढ्न
हिम्मत दिई रहन्थें
हात समातेर साथमा
आफु तिरै तान्थें
त्यो बेलामा साथी थियौ
मैले प्रतिस्पर्धी ठानिंन ।

हेर्दाहेर्दै र सर्दा सर्दै
पाइलाहरु चाल्दा चाल्दै
जब मेरो बराबरी भयौ
अनि मेरो जरुरत भएन
मेरो काँधमा टेक्यौ
मेरो टाउकोमा टेक्यौ
अनि फुत्त उफ्रेर
माथिल्लो हाँगा समात्यौ
र माथि बाट तल हेर्दै
मेरो पुरुषार्थलाई धिक्कार्यौ
अनि माथिबाट
साँच्चै माथिबाट
मलाई जोडले लात्ती हान्न पाउँदा
खुशीले अट्टहास लगाउँदा
म रोएको जस्तो लाग्दो हो

म रोएको छैन
म लडेको पनि छैन
अझै पनि यी खुट्टाहरु
दह्रो टेकेर उभिन सक्छु
दह्रो टेकेर हिंड्न सक्छु
फेरि पनि माथि चढ्न सक्छु
मैले चढ्न बिर्सिएको छैन
तिम्रो हात म तिर नबढाउ
म अझै मरेको छैन ।