भक्तपुर नगरपालिकाको आग्रहः गाईजात्रा औपचारिकतामा सीमित गरौं

202

साउन ३०,
भक्तपुर । भक्तपुर नगरपालिकाले नेवार समुदायको महत्वपूर्ण गाइजात्रा पर्वलाई यो वर्ष औपचारिकतामा मात्रै सीमित गर्न आग्रह गरेको छ । कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखेर यो वर्षको गुन्हीपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) पर्व सामान्य औपचारिकतामा मात्र सीमित गर्न तथा घिन्ताङघिसी र सांस्कृतिक प्रदर्शनीहरु नगर्न नगरपालिकाले सबैमा अनुरोध गरेको छ ।
नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार वडा वडाका सांस्कृतिक गुरु एवम् सांस्कृतिक प्रतिनिधिहरु र जनप्रतिनिधिहरुसहितको बैठक बसेको थियो ।
सो बैठकमा सापारु (गाइजात्रा)को दिन ताहा साँ नगर परिक्रमा गराइँदा एउटा टोलीमा बढीमा २० जनासम्म मात्र सहभागी गराउन अनुरोध गर्ने निर्णय गरेको थियो ।
नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले कोभिड संक्रमितहरूको लागि सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको सेवा प्रभावकारी भएको बताए ।
विगतमा गाईजात्रामा सांस्कृतिक प्रतियोगिता गर्दै आएकोमा भक्तपुर नगरपालिकाले कोभिड संक्रमण जोखिमका कारण यस पटक पनि औपचारिकतामा सीमित गर्न नगरबासीहरूलाई अनुरोध गरेका छौं, नगरप्रमुख प्रजापतिले भने । जिल्ला प्रशासन कार्यालयबाट निषेधाज्ञासमेत जारी गरिएको अवस्थामा यस वर्षको गुन्हीपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) पर्वलाई सामान्य औपचारिकतामा मात्र सीमित गर्न तथा घिन्ताङघिसी र सांस्कृतिक प्रदर्शनीहरू नगर्न नगराउन नगरपालिकाले आग्रह गरेको छ ।
मृतकको स्मरणमा लगिने ताहा साँ परिक्रमाको क्रममा बढीमा २० जना मात्र सहभागी हुन दाफा, भजन, सांस्कृतिक समूह, बाजा खलःलगायत सबैमा अनुरोध गर्ने निर्णय भएको नगरप्रमुख प्रजापतिले बताए ।