कविताः विचित्रको सहर

190

-विदुरप्रसाद तिमिल्सिना
मरेका रहरहरू साँचेर
मिथ्याका पूजक बस्ने यो
विचित्रताले भरिएको सहर
आफूलाई उसले जिउँदो ठान्छ
बेढङ्गका विचारहरूले आज
चर्चा गर्छन् जनको किन ?

रङ्गहीन चिसा विचारहरूले
उडाए हाम्रा रङ्गीन सपना
ठूला सपनाको लोभमा होमी
भिजेका चिसा सिरानीमा
किन खेल्छौ एकोहोरो त्यो
निर्जीव उसको शरीरसङ्ग
किन खोज्छौ आएर यहाँ
सपनाको अन्त्य गर्ने सहरमा
यौवनको प्यासमा प्रेम अनि
गुमेको आफ्नो पुरुषत्व !

समीकरणको सुगन्धमा रमेर
आज हुँदैछ नयाँ नयाँ खेल
जनलाई पत्तो हुँदैन कहिल्यै
कसले गरेको थाहा छैन झेल
शून्यमा हराएका हाम्रा सपना
जिउँदो भनिएको यो सहरले
हरेक पटक असुल्छ ब्याज किन ?

पुल बनेर तार्दा समेत
शूल बनेर पीडा दिँदा
बाध्यताले हत्या गर्नु परेको छ
तिम्रो बतासे सिध्दान्तलाई
न सम्झौता भेटिन्छ कतै
न स्वीकृति देखिन्छ कतै
यस्तोमा भेटिन्छ होला कसरी
खोजेको आस्थाको धरोहर !!