आगामी आर्थिक वर्षको लागि सूर्यविनायक नगरपालिकाको बजेट १ अर्व ५७ करोड ६३ लाख

702
सुर्यविनायकको नगरप्रमुख बाशुदेव थापा र उपप्रमुखमा जुना बस्नेत

असार १०,
भक्तपुर । सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट विवरण सार्वजनिक गरेको छ । विहिबार नगरपालिकाको नवौं नगरसभामा उपप्रमुख जुना बस्नेतले आर्थिक वर्ष २०७८/०७९ को क्षेत्रगत नीति र कार्यक्रम कार्यान्वयन गर्न बजेट सार्वजनिक गरकी हुन् ।
नगरपालिकाको आगामी आर्थिक वर्षकालागि १ अर्व ५७ करोड ६३ लाख रुपैंया कुल बजेट विनियोजन गरेको छ । कूल विनियोजन मध्ये चालुतर्फ शाखागत कार्यक्रम रु १८ करोड ८६ लाख ७६ हजार, सामाजिक सुरक्षा रु १४ करोड, वडागत चालू कार्यक्रम रु २ करोड १५ लाख रुपैँया रहेको छ ।
नगरपालिकाले चालू १६ करोड २० लाख ८२ हजार गरी कूल ५१ करोड २२ लाख ५८ हजार विनियोजन गरेको छ । पूँजीगत कार्यक्रमतर्फ रु ७३ करोड ९८ लाख ४७ हजार र सशर्त कार्यक्रमतर्फ रु ३२ करोड ४१ लाख ९५ हजार विनियोजन गरेको उपप्रमुख बस्नेतले जानकारी दिइन् ।
आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्व परिचालनबाट १८ करोड १८ लाख ९५ हजार, घरजग्गा रजिष्ट्रेशनबाट रु २४ करोड, चालू आर्थिक वर्षको राजस्व बचतबाट रु २२ करोड ५६ लाख ८२ हजार संघ र प्रदेशबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु २३ करोड ४० लाख ८० हजार प्राप्त हुने अनुमान नगरपालिकाले गरेको छ ।
संघ तथा प्रदेशको राजस्व बाँडफाँड रु १३ करोड ४ लाख ४८ हजार, सशर्त अनुदानबाट रु ३२ करोड ४१ लाख ९५ हजार जिसस समपूरक कोषबाट रु २ करोड, सामाजिक सुरक्षा कार्यक्रमबाट १४ करोड प्रदेश समपुरक योजनाबाट ३ करोड र सडकबोर्ड तथा सशर्तका विविध कार्यक्रमबाट ३÷३ करोड प्राप्त हुने अनुमान छ ।
प्रत्येक वडामा कम्युनिटीहल, इ–लाइब्रेरी, खेलमैदान, फुटसल, पौडी पोखरी, जिमहल निर्माण र सम्पन्न भएका पूर्वाधार संचालन तथा व्यवस्थापनको दिगोपनाको लागि सार्वजनिक–निजी साझेदारी गर्न आवश्यक व्यवस्था मिलाउने भएको छ ।
‘नगरस्तरीय ठूला पूर्वाधार निर्माण आयोजनाको लागि रु ११ करोड ५० लाख, नगरपालिकाको प्रशासकीय भवन र मातहतका वडा कार्यालय भवन निर्माणको लागि रु ६ करोड विनियोजन गरेको छु,’ उपप्रमुख बस्नेतले भनिन् ।
वडागत योजना कार्यान्वयन गर्न प्रत्येक वडाको लागि रु २ करोड ५७ लाखका दरले कूल २५ करोड ५७ लाख विनियोजन गरेको छ । क्रमागत योजनाहरु सम्पन्न गर्न रु ९ करोड ८० लाख, अस्पताल पूर्वाधार निर्माणको लागि १ करोड बजेट व्यवस्था गरेको छ । त्यसैगरी संघ प्रदेश र अन्य विकास साझेदारहरुसँग साझेदारी गर्न समपुरक कोषमा रु ८ करोड विनियोजन गरेको उपप्रमुख बस्नेतले जानकारी दिएकी छिन् ।

नवौँ नगरसभामा नगरप्रमुख वासुदेव थापाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निर्वाचनको घोषणा पत्रमा उल्लेख भएका सबै प्रतिबद्धतालाई आगामी एक वर्षमा पुरा गरिने बताए ।
नगरपालिको अहिलेसम्म ६७ किमी पक्की र ११ किमी कच्ची सडक निर्माण, १२ वटा पुल निर्माण, १० खानेपानी आयोजना निर्माण, १५०० सडक बत्ती जडान, ११ सिंचाई कुलो निर्माण, पाँच पर्यटकीय स्थल र त्यहाँसम्म पुग्ने पहुँचमार्ग निर्माण, १७ हजार ५१७ घर नक्सा पास, ५३ कानून निर्माण, न्यायिक समितिबाट १३३ विवादको निरुपण, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २०० जनालाई १०० दिन बराबरको रोजगारी र सात हजार ९०१ जनालाई राहत वितरण भएको छ । त्यस्तै १० सामुदायिक भवन र ३४ विद्यालय निर्माण, २५ मठ मन्दिर निर्माण तथा जीर्णोद्धार, नौ स्वास्थ्य केन्द्रको स्तरोन्नति, १६ हजार ८३७ न​गरबासीको निःशुल्क पिसिआर परीक्षण, सरकारले तोकेबमोजिमको उमेर समूहका छ हजार १०० जनालाई कोभिशिल्ड र २१ हजारलाई भेरोसिल खोप लगाउने कार्य सम्पन्न भएको नगर प्रमुख थापाले बताए ।