संवैधानिक परिषद बैठक जारी, सभामुख सापकोटा र देउवा गएनन्

97

बैशाख २६,

काठमाडौं : संवैधानिक परिषदको बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा विभिन्न संवैधानिक आयोगका रिक्त पदमा नियुक्तिका विषयमा छलफल भइरहेको छ। बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा भने सहभागी छैनन्।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना सहभागी छन्।

कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश प्रधानमन्त्रीले ल्याएकोमा विमति जनाइरहेको छ। सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताविनै बैठक बस्न सक्ने गरी गत वैशाख २१ मा सरकारले अध्यादेश ल्याएको थियो। उक्त अध्यादेश सरकारले गत मंसिर ३० मा पनि ल्याएको थियो।

संसदमा अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुभन्दा एक दिन अगाडि परिषदको बैठक बोलाएपछि विरोध हुँदै आएको छ। आफूअनुकूल नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गराएको भन्दै प्रधानमन्त्री ओली आलोचित छन्। बहुमतको आधारमा नियुक्तिको सिफारिस गर्न सकिने व्यवस्थासहित अध्यादेश जारी गरिएको छ।