दोर्दीखोला आयोजना निर्माण अन्तिम चरणमा, २७ मेगावाट बिजुली थपिँदै

147

बैशाख २५,

लमजुङ : दोर्दी खोलामा निर्माणाधीन दोर्दीखोला जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ। हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको अब तीन प्रतिशत मात्र काम बाँकी छ।

आयोजना निर्माणको अधिकांश काम सम्पन्न गरिसकेको र हालसम्म ९७ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ। आयोजनाका साइट इन्चार्ज दीपक ज्ञवालीका अनुसार इलोट्रो–मेकानिकल, पेनस्टकको काम मात्र बाँकी छ। यस आयोजनाले बिहीबारदेखि बाँधस्थलमा खोला थुनेर इनटेक, फिल्डर पाइपको परीक्षणसमेत शुरू गरिरहेको छ।

त्यस्तै पाइप बिच्छ्याउने, सुरुङ खन्नेलगायतका अधिकांश निर्माण कार्य सम्पन्न भएको आयोजना साइट इन्चार्ज ज्ञवालीको भनाइ छ। हालसम्म पनस्टेकको ७०० मिटरमध्ये ७० मिटर काम गर्न बाँकी छ। तीन हजार २०० मिटरको सुरुङ खन्ने तथा पाइप बिच्छ्याउने, अर्को दुई हजार २७० मिटरको सुरुङको सम्पूर्ण काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। आयोजनाले चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाएको आयोजना साइट इन्चार्ज ज्ञवालीले बताए।

उनले भने, ‘यतिबेला कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेको छ, तर आयोजनामा कोभिडको असर नपरेमा आगामी असारभित्रमा आयोजनाबाट बिजुली उत्पादन गर्नेछौँ, विसं २०७२ फागुनबाट निर्माण शुरू गरिएको यस आयोजनाले विसं २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो, तर नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युत् गृहमा मर्स्यांदी नदीको पानी छिरेर मेशिनरी सामानमा पुर्‍याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले ढिलाइ हुन पुग्दा निर्धारित समयमा काम सम्पन्न नभएको हो।’