Sunday, September 27, 2026
Home समाचार मुस्ताङ जोड्ने सडक थप दुई दिन बन्द हुने

मुस्ताङ जोड्ने सडक थप दुई दिन बन्द हुने

484

चैत १७,
मुस्ताङ । जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सोमबार बसेको बैठकले चैत १९ गतेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो । यसअघि चैत १४ देखि १७ गतेसम्मलाई बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलको अध्यक्षतामा बसेको बैठकले तीव्ररूपमा भइरहेको सडक विस्तारको कामलाई पूर्णता दिन दुई दिन समय थप गर्ने निर्णय गरेको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमका प्रशासन शाखा प्रमुख नारायण पौडेलले जानकारी दिए । प्रजिअ पौडेलसहित सुरक्षा र आयोजनाका अधिकारीले सडक निर्माणस्थलको स्थलगत निरीक्षण गरेपछि समय थप गर्नुपर्ने निष्कर्ष निकालेका हुन् । उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर र कैकुखोला क्षेत्रमा सवारी आवतजावत बन्द गरिएको छ ।