‘भ्यालेनटाइन डे’ अनि ‘माया’का कुरा

समाज । भोली फाुगन २ साथै फ्रेब्रुअरी १४ भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । यो सन्दर्भ पारेर युवाहरू कतै छताछुल्ल त कतै लुकिछिपी नै किन नहोस्, ‘रोमान्टिक लभ’ मा देखिन्छन्। यस्तो रोमान्टिक लभलाई सघाउन कैयन् रेस्टुराँ,होटेल आदिमा युवा समूहले कार्यक्रम नै बनाएर भव्यता दिएका छन् भने सामाजिक सञ्जालले पनि यो माहोल थप रोमाञ्चित बनाइदिएको छ। त्यति मात्र होइन, माया प्रेमका साहित्य सर्वत्र पोखिएका छन्। कोही बुझेर ह्याप्पी भ्यालेन्टाइन डे भन्दैछन् त कैयन्ले नबुझेरै भन्नुपर्छ भन्दै भ्यालेन्टाइन भन्दैछन्। जे होस्, रोमान्टिक लभलाई बल दिने काम गरेको भ्यालेन्टाइन डे काठमाडौंसहित देशभर नै यसको रौनक देखियो। फ्रेब्रुअरी १४ मा मनाइने यो दिवस विभिन्न देशमा फरकफरक र विभिन्न विश्वासका साथ मनाइएको पाइन्छ। पश्चिमी र पूर्वीसंसारमा यो दिनको आफ्नै शैलीको उत्सव छ।

रोमान्टिक लभको चर्चा चलिरहेकै बेला मलाई झट्ट एकजना दृष्टिविहीन युवतीको सम्झना आयो। केही वर्षपहिले उनका बारेमा लेखेकी थिएँ। उनी पनि कुनै समय यस्तै ‘रोमान्टिक लभ’ मा थिइन्। उनी सबलांग युवासँगको प्रेममा परेपछि गर्भवती भइन्। त्यसपछि उनलाई छाडेर उनका प्रेमी भारततिर कुलेलम ठोकेसँगै उनको ‘रोमान्टिक लभ’ सकियो। त्यो रोमान्टिक लभ अन्यत्रै सर्‍यो। अर्को उदाहरण छ। मसँगै स्नाकोत्तर पढ्ने युवतीको आफ्नै कक्षाका युवासँग रोमान्टिक लभ भयो। पछि त्यसलाई उनीहरूले विवाहमा परिणत गरे। कैयन् युवायुवती रोमान्टिक लभलाई विवाहमा परिणत गर्छन् त कतिपयको रोमान्टिक लभ रोमान्समै सीमित हुन्छ, राख्न चाहन्छन्।

आखिर कहाँ हुन्छ त यस्तो प्रेम रु के प्रेम यौन आसक्ति हो रु कि यो विवाहका लागि पूर्वतयारी रु वा एक्लोपन हटाउने हतियार रु यही प्रश्नको सेरोफेरोमा रोमान्टिक लभका बारेमा चर्चा चलिरहँदा कैयन्ले यस्तो प्रेम ईश्वरको आज्ञाद्वारा हुने र मुक्तिको बाटो भन्छन्। कतिले स्वार्थ, लोभ, मोहभन्दा माथि, भाग्यले जुराएको भन्दै तर्क गर्ने गर्छन्। कैयन्ले प्रेमले जात, धर्म, संस्कार, परम्परा, भूगोल, वर्ग, वर्ण केही नहेर्ने तर्क गर्ने गर्छन्। प्रेम त स्वच्छ दुई आत्माको मिलन भन्छन्। भन्छन्, यसलाई रोक्न सक्ने तागत संसारमा कसैसँग छैन। रोमान्टिक लभको रौनक हेर्दा यी प्रश्नहरूको उत्तर समाजशास्त्रभित्र खोज्ने प्रयास गरिएको छ।

युरोपबाट सुरु भएको भनिएको पुँजीवादसँगै त्यतैबाट रोमान्टिक लभ पनि भित्रियो। लिन्डोहमले रोमान्टिक लभको पश्चिमी आदर्श मुख्य रूपमा यौन क्रियामा संलग्न हुनका लागि सामाजिक रूपमा स्वीकार्य प्रदान गर्नु हो भनेका छन्, जुन सम्बन्ध विवाहमा परिणत हुन सक्छ। परम्परागत कृषि समाजमा रोमान्टिक लभ हुन सक्दैन। परिवारको रोजाइ वा सामाजिक संस्कार र संस्कृतिभित्र रहेर विवाहभित्र वा बाहिर प्रेम हुन सक्छ। तर यहाँ उल्लेख गरिएजस्तो रोमान्टिक लभ हुन सक्दैन, जहाँ यौन क्रियाको अहम् भूमिका हुन्छ।

विद्वान् लोरेन्स स्टोनका अनुसार आर्थिक उत्पादन र श्रम बजारहरूमा परिवर्तनले युवालाई प्रेम विवाहमा बढावा दिन मद्दत पुर्‍यायो। परिवारको पारिवारिक छनोट कम हँुदै गयो। यस्तोमा व्यक्ति आफैं साझेदार खोज्न तयार भयो। उनका अनुसार सहरीकरण, पुँजीवादले कमै झाँगेकोमा अझै पनि जवान व्यक्तिहरू परिवारले रोजेकासँग विवाहका लागि तयार छन्, जहाँ यस्तो प्रेम पनि आवश्यक छैन। स्टोनको तर्कमा अठारौं शताब्दीअगाडि रोमाञ्टिक लभ सुरु नै भएको थिएन।

त्यसबेलासम्म समाजमा असुरक्षा र मृत्युदरको अत्यधिक थियो, जसले मान्छेमा माया र आकर्षणलाई बढाउँदैनथ्यो। उनी भन्छन्, ‘गरिबीमा भावना र माया हुर्कन सक्दैन।’ उनको यो तर्कमाथि व्यापक आलोचना भएको छ तथापि मृत्युदर तथा असुरक्षा धेरै भएको समाजमा रोमाञ्टिक लभ हुर्कन नसक्नेमा धेरै सहमत छन्। स्टोनको अध्ययनको निष्कर्ष छ, ‘रोेमाञ्टिक लभ भनेको सत्रौं तथा अठारौं शताब्दीमा युरोपमा भएको जनसांख्यिक, औद्योगिक तथा पुँजीवादी क्रान्तिको परिणाम हो।’ स्टोनले भनेजस्तै हाम्रो समाजमा हेर्ने हो भने केही वर्षअघिसम्म पनि यस्तो प्रेम स्वीकार्य थिएन। अझ पनि विकट गाउँ, विपन्न बस्तीहरूमा यस्ता प्रेम सायदै होला। जसलाई बिहान र साँझको छाक टार्न मजदुरी गर्नुपर्छ, उनीहरूका लागि प्रेममा रमाउने कुरा कति सम्भव होला?

मानवशास्त्री एजे म्याकफारलेनले पनि यो कुरा स्विकारेका छन्। उनले आफ्नो लेख ‘लभ एन्ड क्यापिटालिज्म’ अर्थात् माया र पुँजीवादमा रोमान्टिक लभ पुँजीवादको उपज भएको तर्क गरेका छन्। द्रूतगतिमा भइरहेको औद्योगिक विकास, सहरीकरण र पुँजीवाद झाँगिदै गएको समाजमा यस्तो प्रेम बढ्दै जाने उनको तर्क छ। उनी अगाडि लेख्छन्, ‘रोमाञ्टिक लभ र लभ म्यारिज भन्ने कुरा औद्योगिक क्रान्ति र सहरीकरणको साइड इफेक्ट हो।’

रोमान्टिक लभ कहाँ हुन्छ, कहिले हुन्छ, कसका बीचमा हुन्छ भन्ने कुरा स्वतन्त्र छैन। व्यक्ति प्रेम गर्न स्वतन्त्र छैनौं। व्यक्तिलाई पुँजीवादले ‘सेप’ गरेको छ। प्रेम आधुनिकीकरण र बजारीकरणको उपज हो। प्रेम आफैं हुन्छ, प्रेमको जात हुँदैन, व्यक्ति प्रेमका लागि स्वतन्त्र छ, प्रेमले धनी र गरिब हेर्दैन भन्ने मान्यता माथि प्रश्न उठेको छ। माथिका तथ्य हेर्दा रोमान्टिक लभ सर्वकालिक र सर्वव्यापी कुरा होइन। यो त समाज विकासका क्रममा खास अवस्थाले निर्माण गरेको हो। बजारमुखी सामाजिक संरचनाले व्यक्तिको जीवन निर्धारण गरेको छ ।

प्रणय दिवस अर्थात ‘भ्यालेनटाइन डे’ मा नजिकिदै गर्दा राजधानी विभिन्‍न उपहारले सजिएका छन्। काठमाडौँका विभिन्‍न गिफ्ट पसलदेखि फूल पसलहरुमा प्रेमको झलक दिने उपहार तथा फूलहरु सजाइएर राखिएका छन्। एक सातासम्म मनाइने ‘प्रेम सप्ताह’मा हरेक दिन फरक फरक तरिकाले सेलेब्रेट गर्ने संस्कृति रहेको छ। यो समयमा रोज डे, प्रोपोज डे, चकलेट डे, टेडि डे, प्रोमिस डे, हग डेसँगै अन्तमा ‘भ्यालेनटाइन डे’ फ्रेब्रुअरी १४ मा मनाइन्छ। विशेषगरी पश्‍चिमी देशहरुमा मनाइने यो पर्व नेपालमा पनि यसको आकर्षण बढ्‍न थालेको छ। प्रणय दिवसको गिफ्टहरुकै कारण अहिले राजधानीमा व्यापार समेत हुन् थालेको व्यापारीहरुले बताएका छन्। हिजोआज भ्यालेनटाइन डेको विशेष तयारी रेष्टुरेन्टहरुमा हुने गरेको छ।