सुरुङ बनाउने काममा वडाध्यक्षको अवरोध

107

कान्तिपुर दैनिक
पुस २१, काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनाले आफूहरूका माग पूरा नगरे निर्माण रोक्ने चेतावनी दिएका जनप्रतिनिधिले यसमा कुनै राजनीतिक स्वार्थ नरहेको दाबी गरेका छन् । चन्द्रागिरि नगरपालिका–२ का अध्यक्ष गोपी सुर्खेतीले स्थानीयका जायज माग सम्बोधन गराउन आयोजनालाई ज्ञापनपत्र बुझाए पनि यसमा आफूहरूको राजनीतिक पूर्वाग्रह नभएको दाबी गरेका छन् ।

अध्यक्ष सुर्खेतीले सोमबार जारी गरेको विज्ञप्तिमा आइतबार कान्तिपुरमा प्रकाशित समाचारमा राजनीतिक विषय उठान गरी नेकपाका नेता पुष्पकमल दाहाल–माधव नेपाल पक्षबाट विरोध भएको भन्ने विषय गलत रहेको उल्लेख गरेका छन् । ‘स्थानीयका जायज माग सम्बोधन गराउन शान्तिपूर्ण विरोधसहित आयोजना पक्षलाई ज्ञापन बुझाइएको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर राजनीतिक कुरा उठाएर अपव्याख्या गरिएको छ, जुन कुरा गलत छ ।’

आयोजना निर्माण सुरु हुनुअघिदेखि नै प्रभावित क्षेत्रका स्थानीयले माग राख्दै आएको उनको दाबी छ । स्थानीयका माग सम्बोधन गराउन नागढुंगा सुरुङमार्ग प्रभावित सरोकार समन्वय समिति चन्द्रागिरि–२ गठन गरिएको छ । उक्त समितिले आयोजना पक्षसँग पटकपटक छलफल गर्दा पनि समस्यामाथि ठोस समाधान ननिकालेको विज्ञप्तिमा भनिएको छ ।

वडाध्यक्ष सुर्खेतीको नेतृत्वमा गएको टोलीले आइतबार ज्ञापनपत्र बुझाउँदै आफूहरूका माग सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्दै निर्माणको काम ठप्प पार्ने चेतावनी दिएको थियो । आयोजना शिलान्यास भएको १४ महिनापछि उक्त वडाका स्थानीयले बुँदागत रूपमा माग राख्दै पूरा गर्न दबाब दिएका हुन् ।