जनगणनाको तयारी

219

अन्नपूर्ण पोष्ट दैनिक
पुस १९, काठमाडौं । देश संघीयतामा गएपछि पहिलो पटक जनगणना हुँदैछ। ६ महिनापछि घरघरै पुगेर विवरण संकलन गरिँदैछ। केन्द्रीय तथ्यांक विभागले जनगणनाको तयारी तीव्र रूपमा अघि बढाएको छ।
यसअघि २०५८ र २०६८ मा पूर्णगणना विधि र नमुना छनोट विधिबाट जनगणना गरिएको थियो। यसपटक भने पूर्णगणना विधिबाट जनगणना हुनेछ। पूर्णगणना विधि सबै घरमा पुगेर गरिने तथ्यांक संकलन गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए। ‘विगतमा बहुविधिबाट जनगणना हुन्थ्यो। यसपटक एकल विधिबाट जनगणना गर्दैछौं’, उनले भने, ‘आठ घरमध्ये एक घरलाई छनोट गरेर गरिन्थ्यो भने यसपटक सबै घरमा पुगेर जनगणना गरिनेछ।’ १९६८ सालदेखि प्रत्येक १०/१० वर्षमा हुँदै आएको राष्ट्रिय जनगणना २०७८ मा छुट्टै महŒवको हुनेछ। ७ वटै प्रदेश र ७ सय ५३ वटै स्थानीय तहको जनगणना गरिनेछ। आगामी जेठ २५ देखि असार ८ गतेसम्म १५ दिन राष्ट्रिय जनगणनाको मिति तय गरिएको छ। ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ कोही नछुटोस् कोही नदोहरियोस् भन्ने उद्देश्य राखिएको छ।

संघीयतासँगै प्रविधि र विधि, नियम कानुन तथा संरचनागत रूपमा नयाँ शैली अपनाएर जनगणना गरिने निर्देशक लामिछानेले बताए। विगतमा कागजी प्रविधिको मात्रै प्रयोग हुने गरेकोमा अब कागजीका साथै विद्युतीय र इन्टरनेट प्रविधिबाट समेत जनगणना हुने उनले जानकारी दिए। काठमाडौं उपत्यकामा ट्याब्लेट विवरण संकलन गरिने योजना बनाइएको छ। अन्य स्थानमा कागजमा नै विवरण भरिनेछ। विदेशस्थित राजदूतावास, कूटनैतिक नियोगमा इन्टरनेटमार्फत ई–सेन्सस प्रविधिबाट तथ्यांक संकलन गरिनेछ। विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंले कोभिड—१९ का कारण जनगणनाको काम प्रभावित नभएको बताए। प्रचार, प्रशिक्षणलगायत अन्य आवश्यक जनगणना सामग्रीको छपाइ तथा खरिद प्रक्रिया भइरहेको उनले जानकारी दिए। चौलागाईंका अनुसार जनगणनामा करिब ६० हजार कर्मचारी परिचालन हुनेछन्। जसमा ४२ हजार गणक र १० हजार सुपरिवेक्षक खटिनेछन्।