मेलमिलाप दिवसः व्यक्तिगत होइन समाजको हित गरौं

345

-रशिला होमागाइ
लेकमा फुलेको लालीगुँरास अनि पाहाडका हरिया वनजङ्गल र तराइको चारकोशे झाडिले नेपाललाई सु सज्जित बनाएको छ । सुसेलीको भाका हाल्दै कलकल बग्ने खोलानाला र वनजङ्गल भित्र गुन्जिने चराको आवाजले शान्तिको बिगुल फुकेकोे छ । विभिन्न धर्म सस्कृति झल्किने मठ मन्दिर चैत्य र गुम्बा अनि विश्व सम्पदाहरुले नेपालको सान अझै बढाएको छ । बहु जाति, बहु भाषि, बहु धर्मसस्कृतिको पहिचान भएको र धार्मिक सहिष्णुताले ओत प्रोत आहा ! कति राम्रो सुन्दर शान्त देश नेपाल ।

यति सुन्दर र सजावट प्रकृति भित्र बस्ने सर्वश्रेष्ठ प्राणी हामी मानव जाती । समाजमा बसेपछि आफ्ना आवश्यकता पुरा गर्नका लागि पैचौं सरसापट जस्ता चालचलन परापूर्वकालदेखि नै भई आएको छ । यसैलाई मेलमिलाप भनिन्छ । पहिले मासिहरु सबै शिक्षित थिएनन् तर आफ्नो जिवन शैली सहजै चलाएका थिए । थोरै भौतिक सुख सुबिधामा धेरै खुशी हुन्थे । यसको अर्थ खुशी हुनका लागि ठूलो कारणहरु खोज्नु पर्दैन, साना साना कुरामा खुशी भेटिन्छ भन्ने बुझिन्छ । नेपाली समाजको इतिहासलाई हेर्ने हो भने हामी बहुजाती बहुभाषिक समाजमा बस्दै आएको छौं । धर्म, जात, जाती भाषा फरक फरक भएपनि एक अर्काको दुःखमा साथ दिनु हामी नेपालीको पहिचान हो । एउटै बस्तीमा फरक पहिचान संस्कृतिलाई आत्मसाथ गर्दै आएका मानिसहरु मिलेर बस्नु पनि नेपालीपन हो । राणा शासन काल र पञ्चायतको समय समेत नेताहरुले मेलमिलापको नीतिलाई अगाडी सारेर नेपालमा राजनितिक परिर्वतन गरेका थिए । यसरी नेपालीहरु जो जहाँ जस्तो भएपनि एक अर्काबीच मिलेर बस्नुलाई सामान्य भाषा मेलमिलाप भन्न सकिन्छ ।

आजको समयमा धेरै मानिस शिक्षित भएपनि सामाजिक र व्यवहारी हुन सकिरहेका देखिदैंनन् । कतिपय विषयमा हामीमा बिस्तारै मानवता हराउदै छ । मेलमिलाप भन्ने शब्द हराउदै गएको छ । घर, परिवार, छर छिमेकमा मिलेर बस्न सकेको छैनौँ । साना साना कारणमा सम्बन्ध नै तोड्न पछि हटदैनौं । हामीमा सहनशिलता हराएको छ जस्ले गर्दा हतारमा निर्णय गर्छौ र फुर्सदमा पछुत्ताउछौँ । श्रीमान श्रीमतीको पबित्र सम्बध मेलमिलापको कमिकै कारणले समाजमा बढ्दो क्रममा सम्बन्ध बिच्छेद घटना भइरहेको छ । बेमेलको राम्रो उदाहरण बर्तमान समयको राजनितिक अवस्थालाई हेर्न सक्दछौँ । राजनितिमा आएको बेमेलसँगै समाजमा मेलमिलाप हराएको छ । पार्टी फुटे सगैँ छिमेकीका चिया पसल फुट्यो बोलचाल कम भो हिड्ने बाटो फरक भो । समाजमा रहेका मानिस बिच मेलमिलाप कम भएपछि सामाजिक बिकृतिको जन्म हुन्छ जस्लेगर्दा समाजमा प्रत्यक्ष क्षति गराउदछ । हामी आफ्नो खुशी पाउनको लागि अरुको खुशीको हत्या गछौं । मतलवि भयौं हामी लोभ र लालचा बढ्यो त्यसैले त हामी मेलमिलाप हरायो । मेलमिलाप भनेको मिलिजुली अगाडी बड्नु हो । यसको अर्थ प्रेम सद्दभाव र भाईचाराको व्यवहार प्रस्तुत गर्नु हो । हामी सबैमा सकारात्मक सोचको विकास भइ सामुहिक कार्यमा सहभागि हुदै सफलता प्राप्त गर्नु आजको आवश्वकता छ ।

मेलमिलाप बाट नै समृद्ध नेपाल सुखी नेपाली नाराले सार्थकता पाउँछ । व्यक्तिगत स्वार्थ लाई त्यागि सामाजिक स्वार्थमा लागौ मेलमिलाप दिवसको तपाई हामी सबैमा शुभकामना ।