‘हामी सत्ताकालागि लालायित छैनौँ’

170

मंसिर ८,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभापति शेरबहादुर देउवाको भेटलाई सत्ता साझेदारीसँग नजोड्न आग्रह गरेको छ । लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउन प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीच भेटघाट र संवाद हुनु सकारात्मक भएकाले सत्ता साझेदारीसँग नजोड्न कांग्रेसले आग्रह गरेको हो ।

पार्टीभित्र द्वन्द्व चलिरहेका बेला प्रधानमन्त्रीले विपक्षी दलका नेतासँग भेट गरेको विषयमा भइरहेको टिप्पणीलाई लक्षित गर्दै कांग्रेसले अहिले सरकारमा सहभागि हुने कुनै सम्भावना नरहेको बताएको हो । शनिबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएको थियो । सोमबार प्रवक्ता विश्वप्रकाश शर्माले संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताको बीचमा हुने भेटघाटका निश्चित विषयवस्तु र कार्यसूची हुनैपर्छ भन्ने नभएको बताए ।

‘सामान्यतया संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्षी दलको नेताको बीचमा भेटघाट हुनका लागि यो विषयवस्तु र त्यो विषयवस्तु भनेर सूचीका साथ हुनुपर्छ भन्ने कुरा उचित जस्तो लाग्दैन । लोकतान्त्रीक व्यवस्थालाई सुसंस्कृत बनाउने हो भने निरन्तर भेटघाट र संवाद हुनु राम्रो कुरा हो,’ उनले भने ।
उनले प्रधानमन्त्रीले सत्तामा सहभागि गराउने ‘अफर’ कांग्रेसलाई गरेको हो कि भन्ने आशंका नगर्न पनि आग्रह गरे । अहिले सरकारमा सहभागि हुने कांग्रेसको रुचीको विषय नभएको शर्माको भनाइ छ । जनताले ५ वर्ष प्रतिपक्षी भूमिकामा बस्न आदेश दिएकाले सत्ताका लागि आफूहरू लालायित नभएको उनले बताए । उनले नेकपाभित्रको द्वन्द्वमा आफ्नो पार्टी पूरै निरपेक्ष रहेकोसमेत बताए ।

‘पाँच वर्षका लागि प्रतिपक्षीमा रहने जनादेश छ । हामी सत्ताका लागि लालायित छैनौँ । नेकपाभित्रको द्वन्द्वमा हामी पूरै निरपेक्ष छौँ । उहाँहरूको कुनै प्रकारको जोर घटाउ हुँदै गर्दा प्रतिपक्षी टाउको गणना गर्ने काम कतैबाट नहोस भन्ने हो,’ उनले भने । विगत अढाई वर्षको अवधिमा कुनै पनि महत्त्वपूर्ण निर्णय गर्दा पार्टी सभापति एक्लैले नगरेको स्मरण गराउँदै शर्माले पहिले पदाधिकारी तहमा छलफल गरेर केन्द्रीय कार्यसमितिको निर्णय अनुसार अगाडि बढ्ने बताए ।