पेट्रोल चोरी गर्नेको यसरी भयो पर्दाफास

134

मंसिर ४
काठमाडौं । नेपाल आयल निगमका लागि पेट्रोलको ढुवानी गर्दै आएको २ वटा ट्यांकरमा अवैध रुपमा फल्स बटम (नदेखिने छुट्टै कोठा)राखेर पेट्रोलियम पदार्थको चोरी भएको तथ्य सार्वजनिक भएको हो । नेपाल आयल निगम बागमती प्रादेशिक डिपोका लागि भारतको बरौनी रिफाइनरी डिपोबाट पेट्रोलको ढुवानी गर्दै आएको ना. ७ ख ३६९६ र ना .७ ख २९९५ नम्बरको ट्यांकरमा त्यसरी अवैध रुपमा फल्स बटम राखेर चुहावट गर्ने गरेको पाइएको निगमले जनाएको छ । थप कारबाहीका लागि भने निगमले ट्यांकर र त्यसका सञ्चालकहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को जिम्मा लगाउने तयारी गरेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिएका छन् । ‘घटनाको प्रकृति हेर्दा यो सामान्य ठगी हो भन्न सक्ने अवस्था छैन, संगठित र योजनाबद्ध रुपमा राज्यकै स्रोतमाथि दोहन गर्ने काम भएकोले अनुसन्धानको लागि सीआईबीलाई जिम्मा दिनेबारे छलफल गरिरहेका छौं, भोलि निर्णय हुन्छ’ पौडेलले भने ।

बाहिरबाट प्राप्त भएको सूचनाका आधारमा निगमको प्राविधिक टोलीले बुधबार जाँच गर्दा त्यस्तो तथ्य भेटिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । ‘हामीलाई बाहिर कतैबाट ट्यांकरमा गडबडी छ भन्ने खबर आयो । हामीले प्राविधिकलाई हेर्न लगाउँदा फल्स बटम राखेको देखिएको छ । बाहरिबाट हेर्दा नदेखिने भित्रबाट पनि राम्रोसँग हेर्दा मात्रै थाहा हुनेगरी फल्स बटम बनाइएको रहेछ,’ उपाध्यायले भने, ‘केकति चोरी हुने गरेको रहेछ भनेर हेर्न गुणस्तर तथा नापतौल विभागलाई जिम्मा दिएका छौं । एकपटकमा ६र७ सय लिटर तेल चोरी हुने गरेको हाम्रो प्रारम्भिक अनुमान छ ।’

२०/२० हजार लिटर क्षमताका ती ट्यांकरहरु बीर बेताल आशीर्वाद कम्पनीको नाममा रहेको र प्रज्वलराज भट्ट, दीपेन्द्रबहादुर बम र सदेन व्यञ्जनकार रहेको निगमले जनाएको छ । दुईवटा ट्यांकरलाई निगमले प्रतिट्यांकर १५/१५ लाखका दरले जरिवाना गरिसकेको छ भने ट्यांकरको सञ्चालनमा समेत रोक लगाइसकेको छ । पेट्रोलियम पदार्थमा हुँदै चुहावट नियन्त्रण गर्न भन्दै निगमले अहिले ट्यांकरमा लकिङको व्यवस्था गर्दै आएको छ । यसलाई इलेक्ट्रोनिक लकिङमा स्थानान्तरण गर्ने प्रक्रिया समेत अघि बढाइसकेको छ । तर, ट्यांकर व्यवसायीले भने अनेक अनेक उपाय अपनाएर ठगीको प्रयास गर्दै आएका छन् । चुहावट नियन्त्रणको प्रयासका बाबजुद अझै पनि पेट्रोलियम पदार्थको चोरी नरोकिएको पाइएको छ ।