अहिलेलाई मिल्यो काँग्रेसभित्रको विवाद

98

कार्तिक २४,
काठमाडौँ । नेपाली काँग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले अघि सारेको १६ बुँदे ज्ञापनपत्रका अधिकांश विषयमा आइतबार सैद्धान्तिक सहमति भएको छ । अहिलेलाई भने पार्टीभित्र देखिएको महाधिवेशन केन्द्रित विवाद समाधानका विषयमा सैद्धान्तिक समझदारी जुटेको हो । १४औँ महाधिवेशनको निष्पक्षतामाथि प्रश्न उठाउँदै साउन पहिलो साताबाट सतहमा आएको काँग्रेसको विवाद यो सहमतिसँगै तत्कालका लागि थामथुम पारिएको छ ।

साउन पहिलो साता पौडेल समूहले केन्द्रीय विभागमा भइरहेको मनोनयन, पार्टी संरचनाको गठन, क्रियाशील सदस्यताको वितरण तथा नवीकरण, भ्रातृ एवं शुभेच्छुक संस्था, अन्य पार्टीबाट काँग्रेसमा आउने नेता तथा कार्यकर्ताको समायोजनको मापदण्ड, पार्टीको स्थानीय तहको समायोजन र विदेशस्थित जनसम्पर्क समितिका विषयलाई मुद्दा बनाएको थियो ।

विषय विषयमा पार्टीको निर्वाचन समितिमा उजुरी दिनुका साथै सभापति शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण पत्रसमेत बुझायो । यति मात्र होइन पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर विवादलाई सार्वजनिक तहमा ल्यायो । तर, पनि देउवाले छलफलका लागि तदारुकता नदेखाएपछि सात दिनको अल्टिमेटमसहित १२ असोजमा पार्टी कार्यालयमा १६ बुँदे ज्ञापनपत्र बुझायो । त्यसपछि १७ आसोजमा मात्र देउवा छलफलका लागि बैठक बोलाए । छलफलको पहिलो दिनमै केही नेताहरुमा कोरोना सङ्क्रमण देखिएपछि एक महिनासम्म निरन्तरता पाउन सकेन । देउवाले एक महिनापछि १७ कात्तिकमा छलफललाई निरन्तरता दिए । छलफलमा आआफ्नो धारणा राखेका दुवै पक्षका नेताहरु आइतबार सैद्धान्तिक सहमतिमा पुगे ।