भक्तपुरमा पूरा भएन नेकपाको एकता: अध्यक्ष देउजा र सचिव ढकालको भनाई यस्तो छ

277

कार्तिक २४,
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको करिब तीन वर्ष पुरा भएको छ । तत्कालिन नेकपा एमाले र एमाओवादीबीच एकता भएर नेकपा बन्यो ।
२०७४ साल मंसिरमा सम्पन्न संघीय र प्रदेशसभा निर्वाचन दुई तिहाई नजिक मत प्राप्त गरेको दलमा यतिबेला केन्द्रमा भाड्भैलो र प्रायः जिल्लामा भद्रगोल अवस्था छ ।
दुई अध्यक्ष रहेको यो पार्टीले केन्द्रको संयोजनलाई मिलाएर भागबण्डामा जिल्ला र भातृसंगठनको नेतृत्व मिलायो । ६० र ४० प्रतिशतको अवधारणा लिएर अगाडी बढेको पार्टी एकता अहिले भने जोगिएला की नजोगिएला भन्ने जस्तो भएको छ ।
पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको मनमुटावले पार्टी गम्भिर अवस्था पुगेको छ । यसको असर केन्द्र, प्रदेश, जिल्ला, नगर हुदैं वडा संगठनसम्म पुगिसकेको देखिन्छ ।

राजधानीकै एक जिल्ला भक्तपुरमा नेकपाले लामो समयसम्म एकता प्रक्रिया टुंगाउन सकिरहेको छैन् । भागबण्डा मिलाउदा तत्कालिन एमालेलाई अध्यक्ष र एमाओवादीलाई सचिव दिइएको थियो । जसनुसार अध्यक्षमा बचन देउजा र सचिवमा देबीप्रसाद ढकाल (डीपी) छन् । व्यक्तिगत हिसावले दुई जना युवा र जुझारु नेता भएपनि पार्टी एकता टुंगाउन भने उनीहरुलाई सकस नेकपाकै नेता कार्यकर्ताको आरोप छ ।
भक्तपुरमा नेकपाको एकता प्रक्रिया बारे सोध्दा नाम उल्लेख नगर्ने सर्तमा एक केन्द्रिय तहका नेताले भने ‘मैले बाहिर बोल्न हुदैंन १४ महिना भयो पार्टी एकता रोकिएको छ जिल्लामा । ’

‘पार्टी एकतामा अध्यक्ष र सविचले चासो दिएको जस्तो देखिएन,’ ती नेताले भने ।
वडाले सहमती गरेर नाम पठाएको लामो समय हुदाँ समेत अध्यक्ष देउजा र सचिव ढकालले पार्टीको काममा चासो नदिएको अनेरास्ववियू भक्तपुरका पूर्व संयोजक समेत रहेका राजकुमार लामिछाने ‘प्रीन्स’को आरोप छ । अनेमसंघ भक्तपुरकी एक नेतृले भनिन् ‘बचन दाई (नेकपा भक्तपुरका अध्यक्ष)ले मेरो झोलामा नाम छ घोषणा हुन्मात्र बाकीँ भएको बताएपनि एकताको काम भएन । ’

एकतामा बाधा के ?
पार्टी एकताको कुरा बारे भक्तपुरका केही पूर्वएमाले र पूर्व माओवादीका कार्यकर्तालाई हामीले सोध्दा धेरैले जिल्ला नेतृत्वसंग आक्रोश व्यक्त गरे ।
पूर्व एमाले पक्षले भने वडा, नगर र जिल्ला संगठनमा सम्पूर्ण तयारी सकिएको भएपनि पूर्वमाओवादीले नाम दिन नसकेको आरोप लगाउदैं आएका छन् ।
पूर्व माओवादी पक्षले भने केन्द्रको निर्णय अनुसार जिल्लामा काम नभएको बताएका छन् ।
जिल्लामा पार्टी एकता किन हुन सकेन् ? भन्ने हाम्रो प्रश्नमा सचिव ढकाल भन्छन् ‘चैतमा नै हामीले तयारी सकेका थियौं, तर, कोभिडको कारणले १४५ जना जिल्ला कमिटीका सदस्यहरुको बैठक राख्न सक्ने अवस्था भएन ।’

‘कोरोना भाइरस, दशै तिहार जस्ता चाडपर्व समेत आएकाले संयोजन प्रक्रिया रोकिएको हो, हामीबीच कुनै अन्तर संर्घष वा विरोध भएर होइन,’ नेकपा भक्तपुरमा सचिव ढकालले भने । तिहार सकिए लगत्तै पार्टीको काम सकिने उनले बताए ।

अध्यक्ष बचन देउजाले आफु पूर्ण रुपमा तयार रहेको र एकतापछिको संयोजनका लागि सविच ढकालसंग छलफल भईरहेको तर, केही कारण ढिला भएको स्विकार गरेका छन् ।
समयमै पार्टी संयोजनको काम नसक्दा धेरै कुरामा समस्या भएको र दुई पार्टीमा आस्थावान हजारौं कार्यकर्ताहरुको मनोभावनामा ठेसलागेको उनको भनाई छ । केन्द्रमा नेताहरुको झगडाले गर्दा जिल्लामा पार्टीनै रहलाकी नरहला भन्ने अवस्था आएको छ, अध्यक्ष देउजाले भने ।

भागबण्डाको सहमति कस्तो थियो पहिला ?
जिल्ला कमिट १ सय ४५ जना सदस्यको बनाएको नेकपा भक्तपुरमा साविक एमालेलाई ८२ र एमाओवादीलाई ६३ जना सदस्य गरेर संयोजनन गरिएको सचिव ढकालको भनाई छ ।
भक्तपुरमा चार स्थानीय तह रहेका छन् । जसमा पूर्व एमाले र पूर्व माओवादीलाई दुई÷दुई नगरमा जिम्मेवारी दिने सहमति भएको नेकपा भक्तपुरले जानकारी दिएको छ । सूर्यविनायक र भक्तपुर नगरपालिकामा पूर्व माओवादी, मध्यपुर र चाँगुनारायणमा पूर्व एमालेको नेतृत्व हुने सहमति छ ।

१ नम्बर निर्वाचन क्षेत्र पूर्वमाओवादी पक्षको र २ नम्बरमा पूर्व एमाले पक्षको नेतृत्व रहने गरि सहमति भएको नेकपा भक्तपुरका अध्यक्ष बचन देउजाले जानकारी दिएका छन् ।
चार नगरपालिकामा ३८ वटा वडा रहेकोमा एकताकालागि यसरी विभाजन गरिएको छ । जसमा १० वटा वडा रहको सूर्यविनायकमा क्रमशः पूर्व एमाले पक्ष ७/ एमाओवादी ३, मध्यपुरका ९ वटा वडामा ५/४, भक्तपुर नगरका १० वटामा ५/५ र चाँगुनारायणमा रहेका ९ वटा वडामा ६/३को हिसाबले जिम्मेवारी दिइनेमा नेताहरु सहमत भएका थिए ।

समायोजन कार्य पूर्ण नहुदाँ भद्रगोल
समयमानै पार्टी एकता पछिको समायोजन प्रक्रिया सम्पन्न नहुदाँ जिल्लामा भद्रगोल अवस्था आएको र पार्टी चलायमान नभएको नेताहरुको भनाई छ । चार नगरपालिका मध्य तीन नगरपालिकामा नेकपाकै नेतृत्व छ । तर, पार्टी सक्रिय नहुदाँ जनप्रतिनिधीहरुमा मनोमानी बढेको र घोषणापत्र अनुसार काम नभएकोमा कार्यकर्ताहरुको गुनासो देखिन्छ । युवा संगठन, प्रेस र अनेरास्ववियूको एकता सकिएपनि अन्य भातृसंगठनहरुको अवस्था के छ भन्ने जिल्ला नेतृत्वलाई नै थाहा छैन् । पार्टी एकता प्रक्रियापछिको संयोजन नहुदाँ गतसाल सम्पन्न उपनिर्वाचनमा पहिला जितेको क्षेत्रमा समेत नेकपाले हार भोग्नु परेको थियो ।