Saturday, October 17, 2026
Home राजनीति कोरोना संक्रमितको उपचार निःशुल्क होस्

कोरोना संक्रमितको उपचार निःशुल्क होस्

114

कार्तिक ६,
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक रहेको प्रस्ट पार्दै सरकारले कुनै शर्त बिना यसको कार्यान्वयन गर्नुपर्ने जनाएका छन् । प्रतिपक्षी दलका नेतासमेत रहेका देउवाले बिहीबार विज्ञप्ति जारी गर्दै सरकारले जनताको हितविरुद्ध, लोकतान्त्रिक मूल्य, संवैधानिक र कानूनी व्यवस्था विपरित निर्णय गरि घोर अलोकतान्त्रिक चरित्रको प्रदर्शन र सर्वोच्च अदालतको पनि अपहेलना गरेको भन्दै यस्तो स्थिति आउन नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सजग गराएका हुन् ।

प्रत्येक नागरिक आफ्नो र परिवारको स्वास्थ्यको विषयमा चिन्तित बनेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले विज्ञप्तिमा भनेका छन्, ‘देशमा सर्वत्र त्रास छ, यस्तो विषम अवस्थामा जनताको अभिभावकका रुपमा उभिनु पर्ने सरकारले झन् पिडा थप्ने काम गरेको छ । नेपाल सरकारले कोभिड–१९ को परीक्षण र संक्रमित नागरिकले उपचारसमेत आफ्नै खर्चमा गर्नुपर्ने भनि गरेको निर्णय निन्दनीय र लज्जास्पद छ ।’

सो निर्णयले सरकार जनताकाप्रति सम्वेदनहीन, गैर जिम्मेवार, अनुत्तरदायी र कर्तव्य बिमुख छ भन्ने देखिएको उनको भनाइ छ । ‘नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, आकस्मिक स्वास्थ सेवावाट बञ्चित नगरिने, प्रत्येकलाई स्वास्थ्य सेवामा समान पहुँच हुने, सबै नागरिक कानूनको दृष्टिमा समान हुने, सामान्य कानूनको प्रयोगमा भेदभाव नगरिने र सबैलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रत्याभूत गरेको छ,’ उनले विज्ञप्तिमा भनेका छन् ।