नियात्रा: ‘मावल गाउँको स्पर्श’

322

-जानू काम्बाङ लिम्बू

माइत गाउँ इखाबु आइपुगेको दुई दिन भएको थियो । मुख्य काम त बाजेबोजुको नाममा चौतारा बनाउनु थियो । तर त्यो काम गाउँलेको होस्टे र हैंसैमा काकाहरुले नै सम्हाल्दै हुनुहुन्थ्यो । बेलायतबाट आएका हामी (विजयजी, छोरी र म) लाई फुर्सदै फुर्सद । हामी मेरो मावल गाउँ फेम्बु जाने भयौं । आफू सानोमा खेलेहुर्केको बाटोघाटोमा छोराछोरी र बुढालाई पनि हिंडाउन पाउने भएर म निकै उत्साहित थिएँ ।
खाना खाएर इखाबुबाट बेलैमा बाटो लाग्यौं । छिरुवानी पुगेपछि एकछिन थकाइ मा¥यौं । छिरुवानी— जो नेपालको सबैभन्दा साहसिक र लामो कञ्चनजङ्घा पदमार्गमा पर्छ । ताप्लेजुङ सुकेटारबाट बुङकुलुङ, हाङदेवा हुँदै उत्तरतर्फ तमोरलाई पछ्याउँदै आउँदा फुरुम्बो, खेबेङ्ग, लिङ्खिम, ताक्वा, थिवा हुँदै यहाँ आइपुगिन्छ । अनि यो इखाबु, सेगङ्गवा,सेतोबा, खानी र माझखारक गाउँका मुख्य बजार पनि हो ।
छिरुवानीबाट पारि तरेर हामी उकालो लाग्छौं । सिधै गए त एन्वा, सिसाङ्वा, तापेथोक, ताप्मवा, याङ्सिङ्बुङ हुँदै हेल्लोक पुगिन्छ ।

हामीसँग वृद्ध बुबा पनि हुनुहुन्छ— ससुराली जाने जोशले बिमारै भुलेको । लौराको सहारामा अघिअघि हिँड्दै हुनुहुन्थ्यो । कहिले अघि कहिले पछि, छोरी कविता र सेसेहाङको उछिनपाछिन छ । तीन दसकपछि मावल हिँडेकाले मलाई भने कताकता सपना जस्तो लाग्थ्यो । वारिपारिका बाटाघाटा धेरै त बिर्सिसकेछु । एन्वा पुग्दा बल्ल चिनें— पारिपट्टि सुसाइरहेका दुई खोला तेङ्वा र हेङ्वा हुन् । दुवै खोलालाई एउटा सानो टापुले मात्र छुटाएको छ । माथि शिर अथवा मुहान त दुवैको एकै हो तर यहाँ मुलघरबाट बाटो लाग्ने बेला झगडा परेर दुबैले बेग्ला बेग्लै बाटो रोजे जस्ता देखिन्छन्। दुबैको गन्तप्य पनि एकै त रैछ, फालहान्दै झरेर तमोर नदीलाई भेट्ने ? गडगडाउँदै पुरै डाँडा पाखा थर्काउँदै बग्ने यो तमोरले कति बटुलेका होलान् यस्ता साना खोला र खोल्सीहरू ? आखिर सहयात्री त खोलाहरूलाई पनि चाहिँदो रहेछ। थुप्रै साथी बटुलेर सप्तकोशी भेट्न हतार दौडीरहेको तमोरलाई हेर्दै लाग्यौँ हामी पनि कञ्चनजङ्घा जाने यात्रीहरूको पछि पछि।  हुन त अहिले दु:खेम्-सु:खेम् तापेथोकसम्मै पुगेको छ— गाडीको बाटो । तर गाडी भने आइपुगेका छैनन् । तेसैले हामी पैदल नै थियौं ।

ढुङ्गैढुङ्गाको धारमा पनि एउटा राम्रो घर बनेछ । कसको होला ? बुबाले अन्दाँज्नुभयो— ‘एन्वा गाउँको श्रीमानेको कुनै छोरा या नातिको होला नि !’ बुबाको भनाइले एउटा पुरानो कुरो याद आयो । जतिखेर, एन्वाको पाखामा एउटा घर मात्र थियो । श्रीमान्, त्यै घरमुलीको नाम थियो । दिदीहरु पालाम गाउँथे, ‘श्रीमाने सिरो केबालो इरो…’, यो पालामको उस्तो गहिरो अर्थ त थिएन, खालि तुकबन्दी हो । यसरी हरेक रेला कुरामा श्रीमाने बाजेको नाम किन आउँथ्यो ? भौतिक रुपमा बाजेलाई देख्ने मौका कहिल्यै पाइनँ । अहिले पनि लाग्छ, आहानमा कहिने ती बाजे यथार्थमा कस्ता थिए हुनन् ?

जब ढुङ्गैढुङ्गाको भिर काट्यौं तब ओताङ्गो गाउँ मुनिको पहिरालाई दुइ खुट्टाले नाप्न थाल्यौँ । उहिल्यै हरेक दिन पहिरो मात्र लडी रहने यो पाखा अहिले अलैंचीबारी भएछ । सानोमा मावल जाँदा लाग्थ्यो, यी गाउँठाउँ सृष्टि गर्दा सृष्टिकर्ताले घुस खाए कि क्या हो ? यो ठाउँ, त्यस इलाकाका वारिपारि गाउँको तुलनामा अलिक नराम्रै लाथ्यो ।
पहिरो काटेर झन्नै एक किलोमिटर हिंडेपछि एउटा राम्रो आराधरान आयो । आराघर बाटोमुनिबाट दुई खम्बा उठाएर माथि बाटोसम्म निकालिएकाले बटुवाका लागि बिसौनी घर जस्तै बनेको थियो । हामी पनि त्यहाँ एकछिन बस्यौं, थकान मेट्यौं र फोटो पनि खिच्यौं । केटाकेटी न हुन्, कविता र सेसेहाङलाई यो आराधरानले बडो रमाइलो अनुभूति दिलाएछ । काठ काट्दा निस्किएको काठको पिठो सेसेहाङले मुट्ठी पार्दै छर्न थाल्यो । उनीहरूलाई देखेर मलाई पनि एकछिन केटाकेटी हुन मन लाग्यो ।

अलैंचीबारी वर तापेथोकसम्मै थियो । उहिल्यै मङ्सिरपूर्णे मेला लाग्ने बगरमा अहिले खेत बिराईएको रहेछ । ०३५—३६ सालसम्म यहाँ मेला लाग्थ्यो । मेलाबाट एक जना पुलिसलाई मारेर तमोरमा बगाई पठाएपछि मेला बन्द भयो । मार्नेहरूलाई जन्मकैद सजाय भएको थियो । विगतलाई सम्झिँदै निकैबेर हेरिरहें खेतलाई । खेतको बीचमा केही घर पनि थिए । ती घरहरू गाउँमा जनसङ्ख्या बढेको दृष्टान्त थिए । सिसाङ्वा खोलाको पुरानो पुल उस्तै थियो । सानोमा आमासँग मावला जाँदाका दिन बेस्सरी याद आयो । ठुलो भाइ र म त्यो पुलमा दौडको होडबाजी चलाउँथ्यौं । हैट, बाल्यकालका ती रमाइला क्षण सम्झिंदा मुटु नै चिरिएला जस्तो हुन्छ ! तर अब कहाँ पाउनु त्यो बालसुलभ जीवन ? हाम्रो अघिअघि वृद्ध बुबा सकीनसकी हिंडिरहनु भा’थ्यो । घरिघरि सास बढ्थ्यो, खोकी पनि लगातार लाग्थ्यो । हो, हामी जीवनजस्तै निकै अभेगमा थियौं । बुबालाई केही भइहाले गर्न सक्ने केही थिएन । धन्न, बुढेसकालमा ससुराली हेर्ने बुबाको रहरको अघि बिमारले पनि घुँडा टेकेको थियो ।
उहिलेको तापेथोक बगर अहिले बजार बनेछ, छक्कै परें म । पहिले त्यहाँबाट पारि साँगु पिपुधाप र फेम्बु तर्नलाई तमोरमाथि अप्ठ्यारो बाँसको फड्के मात्र थियो । त्यै फड्केमा हामीलाई बोकेर आमाले मावली पु¥याउनु हुन्थ्यो । सम्झें, आमा कति धन्य छिन्; हामीलाई यस्तो गाउँतिर हुर्काएर कताकता पु¥याउनु भयो । अहिले राम्रो फलामे पुल बनेछ, खुसी लाग्यो । सुदूर पहाडतिर यसरी बिकाश हुनु आवश्यक हो ।

डुब्न लागेको घामको छायाँ ओढेर तमोर अझै ओरालो बग्दै थियो, फोटो खिच्दै हामीले साँगु त¥यौं र फेम्बुतर्फ लाग्यौं— गड्तिरै गड्तिर । सानोमा हामी यी गड्तिरमा बालुवा छर्दै, बालुवामा आफ्नो नाम लेख्दै हिँड्थ्यौं । अहिले यहाँका बाटामा ढुङ्गा ओछ्याएर घोडा र खच्चड हिंड्न सक्ने बनाएछन् । साँगु गाउँ भिरैभिर भए पनि घमाइलो छ । अम्बक, सुन्तला, ईस्कुस र नास्पाती बेस्सरी फल्छ । यहाँ तुम्बाहाम्फे, ताप्मादेन, इन्वादक, प्रांगदेन आदि थरका लिम्बूहरू बसोबास गर्छन् । ताप्मादेन र तुम्बाहाम्फे तापेथोकमा पनि छन् ।
साँगुदेखि माथि लागेपछि फेम्बु नपुगेसम्म दोकान नभेटिन सक्थ्यो । त्यसैले साँगु पुलको फेदमा चाउचाउ पकाउन लाएर खाजा खायौं । जब साँगुदेखि माथि लाग्यौं, हामीलाई साँझले यस्तरी छोप्न थाल्यो कि टर्चलाइट नै बाल्नुप¥यो । झ्याउँझ्याउँ कराउँदै झ्याउँकीरीले पछ्याइरहे । सानोमा कोमल पयरले टेकेका बाटाहरूमा फोटो खिच्दै जाने मेरो रहर अँध्यारोले छोपिदियो । फगत् नोष्टाल्जियामा हिंडी रहें— एक तमास ।
उहिल्यै ओलाङचुङ गोला हुँदै कञ्चनजङ्घा जाने पर्यटकहरू पारि तापेथोकको बाटो हिंड्थे । अहिले चाँही मेरो मावली गाउँ फेम्बु हुँदै लेलेप भएर जाने ठुलो बाटो बनाएको रहेछ । त्यसैले अँध्यारो भए पनि लडिने डर भएन । कविता र सेसेहाङ मलाई समाउँदै हिंड्थे, लौरोसँगका बुबालाई विजयजीले डो¥याइरहनु भएको थियो ।

पदमार्गको दृष्टिले हामी ‘नर्थ क्याम्प’ जाने बाटो हिंड्दै थियौं । कञ्चनजङ्घा उत्तर र दक्षिण दुवैतिरबाट पुगिन्छ । दक्षिण तिरबाट आए साउथ बेस क्याम्प ओक्ताङ, त्यसपछि सेलेले पास हुँदै घुन्सा पुगिन्छ । नर्थ बेस क्याम्प पाङ्पेमा जाने हो भने घुन्साबाट खाम्बाचेन हुँदै उकालो लाग्ने हो । यो पदमार्गको मुख्य बिन्दु दक्षिणमा ओक्ताङ बेस क्याम्प र सेलेले पास हुन् र उत्तरमा पाङ्पेमा बेस क्याम्प हो । सेलेले पासमा एउटा घोडा आकारको ठुलो चट्टान छ जसलाई भनिन्छ— मिर्गिङ्ला पास । उहिल्यै दलाई लामा यो बाटो भएर आवतजावत गर्दा त्यही चट्टानमा घोडा बाँध्ने गर्थे रे !

निक्कै बेर हामी छामछामेछुमछुमे हिंडाइमा थियौं, पिपलबोट चौतारा पुगेछौं । मैले त भुलिसकेछु । बुबाले पो ठम्याउनु भयो, ‘बल्ल पिपलबोट निस्कियौं है !’
सानोमा पिङ खेली हिंडेको पिपलबोटको चौतारोमाथि त बजार बसेछ । तीन ओटा दोकान थिए । ‘नानी यो कसको दोकान हो ? यहाँ एक मग तातो पानी पाइन्छ ? एसो दबाइ खानलाई ।’ लामो सास तान्दै बुबाले सोध्नुभयो ।
‘हजुर दाजु, यो दन्डु मास्टरको छोराको दोकान है ! तेसो भन्दा मात्र चिन्छन् मान्छेले । त्यसैले बुबाको नाम पो आफैले भनें ।’
यसो भन्दै बिजुली बत्ती बलिरहेको बरण्डामा एक जना अधबैंसे मान्छे निस्कियो— हातमा लागेको रगत रुमालले पुछ्दै । ऊ सुकुटी बनाउन मासु काट्दै थिएछ । बाहिरैबाट घरभित्र सुकुटी झुण्ड्याइएको देखिन्थ्यो । ‘ए …नानी दन्डु सरको कुन भाइ छोरा नि ?’ उसै गफ गर्न सिपालु बुबा एक छिन गफमा भुली हाल्नुभयो । फेम्बुको मादिबुङ्ग स्कुलमा धेरै बर्ष सिक्षक पेशामा कार्यरत दण्डु सर जातले भोटे भएपनि पुरै लिम्बु भाषा बोल्ने हाम्रो मामा-छेमाहरू सँग सँगै हाट बजार हिँड्ने, धान नाच्ने खालको हुनुहुन्थ्यो। बाबा जागिरमा भएका बेला म लामो समय मावलाको बाजे बोजुसँग बसेकी थिएँ। ती दण्डु मामालाई मैले त्यै बेला देखेकी हुँ। ईखाबु घरको बाजेले स्कुल पढ्नु जाऊ भन्नु हुन्थ्यो, मावलको बाजेले गोठाला लैजानु हुन्थ्यो त्यै भएर मलाई मावला रमाइलो लाग्थ्यो। त्यो मेरो अबोधपन आज सम्झेर एक्लै हाँस्छु।

हामीलाई चिसोले निक्कै सताएको थियो । चिया अर्डर गर्न म भित्र पसें । कित्लीमा चिया उम्लंदै थियो । मैले चिया मागेपछि उतापट्टिको बरण्डामा भाँडा धुँदै गरेकी एक जना सानीसानी केटी उठेर आई र हाम्रो लागि चार कप चिया बनाएर दिई । मावली गाउँ फेम्बुमा यस्तो बिकाश र परिबर्तन देखेर खुसी लाग्यो । उहिल्यै त्यो पिपलबोट छेउमा रातो माटोले लिपेको एउटा घर थियो । मलाई अलिअलि सम्झना छ, त्यो घरको एक जना कार्की माइला भन्ने मामा लिम्बुले भन्दा राम्रो लिम्बु भाषा बोल्नुहुन्थ्यो । ती कार्की मामा पनि दण्डु मास्टर मामा जस्तै हाम्रा मामाहरुसँग मज्जाले तरुनीको हात समाएर धाननाच नाच्नुहुन्थ्यो । पछि घरबारी बेचेर तराई बसाइँ गएका ती मामा अहिले कहाँ, कुन ठाउँमा छन्; थाहा भएन । हुन त लिम्बूहरूको बाहुल्य रहेको यो तमोरखोला भेगमा बस्ने अन्य जातले लिम्बू भाषा बोल्नु कुनै अनौठो कुरो होइन। मैले देख्दा फेम्बुमा त्यो बेला एक घर राई, एक घर मगर र एक घर तमाङ्ग बस्थे, तेसैले पनि उनीहरू मर्दा, पर्दा या दुख सुखमा तीनै लिम्बूहरूलाई गुहार्थे, उनीहरूसँगै सहकार्य गर्थे। दण्डु मास्टर र कार्की माइला मामा जस्तै हाम्रो आमा र छेमाको धान नाच्ने साथी राईनी कान्छी र ठुलोघर साइँली भन्ने तमाङ्गसेनी छेमाहरू थिए। मलाइ सम्झना भए अनुसार फेम्बुमा कामी, दमाई भने थिएनन्। बरु माथि लेप्चुङ्ग र लेलेपमा भोटेहरूको ठुलो बस्ती थियो। दण्डु मास्टरको पनि घर लेप्चुङ्गमा थियो।

चिया पिउँदै गरेका बुबा र त्यो अधबैंसे गफिँदै थिए । पिपलबोट माथिको जम्मै जग्गा पहिले हाम्रो मामा खलकको थियो । कञ्चनजङ्घा जाने बाटो बन्ने थाहा पाएर ती पिपलबोट छेउको जम्मै बारी आफुहरूले किनेको कुरो त्यो अधबैंसे भोटे केटाले बतायो । कुरा सुनेर जग्गा बेच्ने सोझा लिम्बुप्रति मनमा माया जाग्यो । बिचरा ! पछि के हुन्छ भन्ने हेक्का नराखी बेचिपठाएछन् । अहिले त्यही मालामाल व्यापार भएको देखेर पछुताउँदै होलान् ।
चिया पिइसकेर बाटो लाग्यौं । मावल नजिक—नजिक पुग्दै थियौं । तर हामीलाई केही थाहा थिएन— मामाका छोरा नातीहरूले कता—कता घर बनाएर बसेका छन् । जेठा मामाको माइला नाति बाजेबोजुको जिउनीबारीमा छ रे— सुनेको हो । माइला मामाको मूलघरमा माइला मामाको जेठा छोरा र बुहारी छन् रे । त्यसैको आधारमा हिंड्यौं हामी ।
साँझको खाना खाने बेला बितिसक्यो । खाना नखाई सुत्नुपर्ने हो कि भन्ने चिन्त्ता पनि थियो । बुबाको इच्छामा हामी माइला मामाको मूलघरमै पस्यौं । जेठा मामाको मूलघरमा जेठा मामाको जेठी बुहारी र कान्छी नातिनी बुहारी रैछन् । माइला मामाको घर पुगेपछि थाहा भयो ।

चुलो त आँगनमै बनाएका रहेछन् भाइ र बुहारीले । यो काइदा राम्रै लाग्यो । उहिले भित्र चुला हुँदा माइली माइजु धुवाँले आँखा रातोरातो बनाउँदै निस्कनुहुन्थ्यो । जसरी चुलो आँगनमा निस्क्यो त्यसरी नै मामामाइजु बितेको पनि वर्षौं भयो । हामी पुग्दा ओछ्यान पस्न लाग्दै रैछन् भाइहरू । फेरि खाना बनाउन मजबुर बनाएकोमा दुःख लाग्यो । ‘खाना बनाउनु पर्दैन बुहारी, खाजा भर्खर खाएर आएको !’ भोको पेट छाम्दै मुखले त यसै भनें मैले । तर, पुरानो संस्कारमा हुर्किएकी बुहारी कहाँ मान्थी ? ठाकठाकठुकठुक गर्दै खाना तयार गरिहाली ।

हामी चाडबाडको समयमा त थिएनौं तर भाइले चोयामा उनेर झुन्ड्याई राखेको फ्रेस सुँगुरको मासु निकालेर काट्न थाल्यो । आधा घण्टा जस्तोमा खाना दिई बुहारीले । गुन्द्री र राडीमा लहरै बसेर खाना खान लाग्यौं । सेसेहाङ र कविता एकापट्टि हामी ठुलाबडा खलक अर्कोपट्टि । सुँगुरको मासुमा झोल हालेको तिहुन साह्रै मिठो थियो । बिमारी बुबाले पनि खाना थपीथपी खानुभयो । खाना खाइसकेर भाइले तलामाथि बिस्तरा लगाई दियो । बुबा, सेसेहाङ र बुढो एकापट्टि ठुलो कोठामा, अर्कोपट्टि सानो कोठामा, कविता र म आमाछोरी । राति साह्रै जाडो भयो । सिरक बाकुलो नै थियो । र पनि, कता—कताबाट चिसो हावा छिरिरहन्थ्यो । कतिखेर उज्यालो होला र मावल गाउँ डुलौं भइरह्यो ।

बिहान उठ्दा थाहा भयो, भाइहरूले पानीको धारा पनि आँगनमै तानेका रहेछन् । पहिले पानी भर्न ग्यालेन र कित्ली बोकेर खक्सेवा खोल्सा पुग्नु पर्थ्यो । आज झिलिमिली बिजुली बत्ती आँगनमै धारा; खुसी हुँदै हातमुख धोयौं । मलाई गाउँघरको यो रुप देखेर आमाको औधि याद आयो। त्यो जमानामा बाँसको कप्टेरो चिरेर मुठा बनाएको सिटा बालेर राती धान नाच्न जान्थे आमाहरू। अहिले आमा जन्मेर हुर्केको उही गाउँघरमा यस्तो बिकाश भएको देख्दा कति खुसि हुन्थिन् मेरी आमा ? राति हामी आइपुगेको खबर जेठा मामाका नातीहरूले पनि सुनेछन् । हामीलाई लिन बिहानै आइपुगे माइला नाति । धेरै दिन बस्ने समय पनि थिएन— हामीसँग । बिहानको खाना तिनै माइला भदैको घरमा खाएर लेलेप हुँदै लेप्चुङ घुम्ने योजना बनायौं ।

मेरो मावला गाउँ फेम्बु त पूरै परिवर्तन भएछ । मेरो आँखामा बसेको त्यो पुरानो फेम्बुको तस्बिर अब कल्पनामा मात्र सीमित रह्यो । अहिले आँखाले हेरिरहेको नयाँ फेम्बुलाई मनले स्वीकार्न मानिरहेको थिएन। सानोमा मेरो बाख्रा चराउने डाँडा होचो भए झैं लाग्यो । डाँडामुनिको तितेनी घारीमा हरियै अलैंची लगाइएछ । तिनै अलैंचीको खेती भिजाउन खक्सेवा खोल्सा पूरै सुकाएछ्न् । अहिले त उहिल्यै यहाँ पानी बग्थ्यो भन्ने अनुमान लाउने खोलाको डोब मात्र देख्न सकिन्छ । यही खोलाले एक बर्खा मेरो ठुलो भाइलाई निक्कै तलसम्म बगाएको थियो । तेत्रो मान्छे बगाउने खोला मानिसका स्वार्थसँग हारेछ बरै ।
माइला मामाको आँगनमा निस्किएर अलि मास्तिर रहेको कान्छा मामाको घर धित मरुन्जेल हेरें । त्यो घर मेरो निम्ति विशेष र प्यारो थियो । मेरो जन्म त्यही भएको रे । बाजेबोजुले बनाएको त्यो मूलघर कान्छी माइजु बितेर कान्छामामा तराई झरेपछि बेस्याहार भएर भत्कीगएको कुरो सुनेकी थिएँ ।

बाह्र वर्षमा खोला फिर्छ भन्छन् तर, पूरै ३० वर्षमा मावल फिरेको मलाई चिन्ने त कोही रहेनछन् । म फलानाकी छोरी हो नि भन्छु ‘ए, नाम सुनेको’ मात्र भन्छन् । हो, मलाई त्यो मूलघरले कत्ति राम्ररी चिन्थ्यो तर के गर्नु ? झरीवर्षामा चुटिएर, आँधीबतासमा भुत्लिएर उसले पनि बिर्सिसके जस्तो लाग्यो । माइला भदै मैले गाउँ छाड्दा जन्मेकै थिएन । ऊ त याङरक मामाङ्खेको बुहारी बिहे गरेर दुई जना नानीको बुबा भइसकेछ । गाउँमा अलैंची खेती गरेर उँभो लाग्नेमा माइला मामाको ठुलो छोरा र ऊ रैछन् । दुवैले दिदीबहिनी बिहे गरेछन् । सोचें, गाउँ र समाजले यसरी नै काँचुली फेर्ने हो ।

उही माइला भदैकोमा खाना खाएपछि हामी घुम्दैफिर्दै लेलेप जाने भयौं । माइला मामाको नातिनी र जेठा मामाको पनातिनी हाम्रा गाइड भए । केटाकेटी त हुन्, कविता र सेसेहाङसँग उनीहरू कति चाँडो घनिष्ट भइसकेछन् । पानीघट्ट बनाइएको रैछ खक्सेवा खोल्सामा । मान्छे त कोही थिएनन् तर, घट्टमा मकै पिसिंदै नै थियो । खोल्सा तर्ने बितिक्कै सोनामको खेत आउनु पर्ने हो तर, खेत मेटाएर अहिले अलैंची लगाएछन् । बाटोमुनि एउटा घर थियो, कसको सोधेको त माइला मामाकै कान्छा छोराको रैछ । बिहे नगरी त्यहाँ घर बनाएर दोकान गर्दै बसेको रैछ । हाम्रो सत्कारको तयारी उसले पनि गरिसकेछ । अगेनामाथि गोरुको सुकुटी टन्नै सुकाइएको थियो । भो…भो भन्दाभन्दै एक—एक प्लेट सुकुटी र तोङ्बा टक्राई गयो त !

मैले भनें, ‘सेसेहाङले त मासु खाँदैन कान्छा ।’ यति मात्र के भनेकी थिएँ, मलाई हेर्दै मरिमरी हाँस्न थाली कविता । किन हाँसी ? अनभिज्ञ हामी । मेजमान हो, नाइँ भन्नै मिलेन । खाना अघि खाइसकेर पनि हामीले फेरि खायौं कान्छा भदैको मन राख्न तोङ्बा र सुकुटी । समय निकै घर्किसकेको थियो । बुबा आराम गर्न उता माइला भदैकै घरमा रहनु भएको थियो । तेसैले हामी लेलेप घुम्न जानेहरू चाँही बाटो लाग्यौँ । बाटोमा— अघि कविता मरीमरी हाँस्नुको कारण बुझ्न बुढो र सेसेहाङलाई आँखा घुमाएँ । हाँस्दै सेसेहाङले भन्यो, ‘फुपू पनि, हिजो राति मैले सुँगुरको मासुको झोलसँग भात खाएकोले दिदी हाँसेको… ।’
बल्ल पो थाहा भयो, रातिको तिहुन मासुमात्र थियो भन्ने । सबै मर्ने गरी हाँस्यौं ।
‘अनि भन्नु पर्दैन त ? मैले नि भुलेछु ।’ भनें । ‘अब त्यति राति… मासु बाहेक केही त थिएन होला । के दुःख दिनु भनेर झोल—झोल खाएँ नि । कविता दिदीले पनि केही हुन्न, रससँग खा …भन्नुभयो ।’ हिजो भात थपीथपी खाएको सेसेहाङले फेरि कुरो थप्यो, ‘कम्तीमात्र भोक लागेको होइन । त्यसैले खाएँ, मिठो पो हुँदो रैछ मासुको रस त…’ यति भनेर ऊ थोरै मुस्कुरायो ।

बल्ल सम्झें, राति खाना खाँदा दिदीभाइ खासखासखुसखुस गरेको । कस्तो भुलेको होला मैले सेसेहाङ जन्म शाकाहारी हो भन्ने । हाम्रो यात्राको यो पल रमाइलो र अविष्मरणीय बन्यो । सेसेहाङलाई हेरेर हामी भरै सम्म हाँसी रह्यौं । जे होस् भाइले सही जग्गामा घर बनाएको रहेछ, बाटोमा जाँदा यस्तो लाग्यो मलाई । किनभने उसको घर कञ्चनजङ्घा जाने पदमार्गमै पर्छ । आफन्त यसरी व्यापारी बन्दा खुसी नलाग्ने पनि हुन्छ ? हुन पनि यो पदमार्ग साहसिक, प्राकृतिक र पर्यावरणीय छ । बहु सांस्कृतिक विविधतापूर्ण पनि छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका सेर्पाहरुले यस पदमार्गको राम्रै फाइदा उठाएका छन् । तल पहाडी क्षेत्रमा बस्ने लिम्बु जातिले पनि त सिक्नु पर्यो नि ? अझै उतै त्यो पिपलबोट निरको जग्गा नबेचेर तेतै यो दोकान खोलेको भए कति राम्रो हुन्थ्यो ? यता सोनाम सेर्पाको बारीमा लिम्बूले घर बनाएछ ! उता लिम्बूहरूको आँगनमा दण्डु मास्टरको छोरा सेर्पाले दोकान थापेछ ! ठिक उल्टो भो तर ठिकै छ गोराहरूको अग्रेजी भाषामा भन्न परे, नट टू ब्याड अथवा देर आयो तर दुरुस्तै आयो।

ठाउँ त अभेग नै हो, तर लघु जलविद्युतले झलमल्ल भैसकेको रहेछ । कति ठाउँमा त बत्ती नै ननिभ्दो रहेछ राति—दिउँसो । अचेल घुन्सामा विद्युत र टेलिफोनको पनि समस्या छैन भन्ने सुनिन्छ । आन्तरिक पर्यटन प्रबर्धनलाई घुन्सादेखि माथि चिया समेत निःशुल्क छ । जे होस् भाइले सही जग्गामा घर बनायो, यस्तै सम्झिँदै हिंड्दै थिएँ । दुई नातिनीले हामीलाई केही बेरमै माने डाँडाको चिहानघारी हुँदै श्रीजुङ निकालेर लेलेपतिर हिँडाए ।
घाम लागेकाले वरिपरि रमाइलो दृश्य देखिन्थ्यो । पारि ताप्मवा, याङ्सिङबुङ, मर्गेम र हेल्लोक गाउँ देखिए । मान्छे नहिंड्नाले पारिको पुरानो बाटो जङ्गल भएछ ।
माने डाँडा मेरो मावाली फ़ेम्बूहरूको चिहानघारी हो, त्यहाँ हाम्रो बोजु र कान्छी माइजु अनि कान्छा मामाको दुई छोरा नेप्तु र लुतेको कपुरथान छ । सायद, अहिले उनीहरू आमाको काखमा खेलिरहेका होलान् । बाजे बोजु पनि बुहारी र नाता नातिनासित खुसि होलान् स्वर्गमा ।

श्रीजुङमा राई र मगरका जम्मा दुई घर थिए l मैले अघिनै पनि बर्णन गरेकी छु , थाहा छैन अचेल कहाँ होलान् । फेम्बुको पिपलबोट जस्तै त्यहाँ पनि नयाँनयाँ मान्छे दोकान गरी बसेका रैछन् । ती ठाउँ छाडेर सिधै उत्तरपूर्व लाग्दा लेलेप अनि उत्तरतर्फ उकालो लागेमा भोटे गाउँ लेप्चुङ पुगिन्छ । सानोमा धेरैपल्ट बोजुको पछि लागेर यो बाटो हिंडेकी थिएँ ।
श्रीजुङको डाँडामा झुप्पै उभिएर फोटो खिच्यौं । फोटोमा पारि हेल्लोक र मर्गेम देखिंदा मन अचाक्ली रमायो । सानोमा बडा र दिदीहरूसँग सकीनसकी ढाकर बोकेर आलु साट्न हिँडेको याद आयो। त्यो बेला यसरी वारि बाटो थिएन त्यै पारि देखिएका ताप्मावा र मर्गेमको बाटो हिँड्नु पर्थ्यो। मैले देखेँ हामीले बिहानको खाना पकाएर खाएको याङ्ग्सिङ्गबुङ्गको चौतारो अझै उस्तै थियो। याङ्ग्सिङ्ग भनेको चिलाउने र बुङ्ग भनेको बोट हो लिम्बू भाषामा । खाना खाएर हेल्लोक र लेलेप जोड्ने पुलबाट वारि तरेर थाक्पू र लुङ्ग्थुङ्ग हुँदै चेने गएका थियौँ l

लेलेप खासै उति टाढा त होइन फ़ेम्बूदेखि स्कूल नै धाउँछन् । तै पनि हामीलाई हिंड्न धौधौ भयो । श्रीजुङ र लेलेप बीचको भीरमा १७ पल्टभन्दा बढी बिसायौँ होला । नातिनीहरु त स्थानीय भइहाले, फुच्चीहरु घोडा जस्तै दौडिन खोज्थे । घरिघरि विजयजीले ‘सोल्टिनीहरु बिस्तारै जाऊँ न हो !’ भन्दै रेला गर्दा लाजले रातापिरा हुन्थे । कति निश्चल बालापन ! न शोक, न सुर्ता ! तमोर जस्तै स्थिर विश्वास, कञ्चनजङ्घा जस्तै अटल आस्था !

लेलेप पुग्नु अगावै कञ्चनजङ्घा जाने मूलबाटो छुट्टिने रैछ । त्यहाँ पर्यटकको लागि ‘गाइड साइनबोर्ड’ गाडिएको थियो, तेसमा लेखिएको थियो, ‘कञ्चनजङ्घा पुग्ने बाटोको रुट, लेलेपबाट हिंडेको दिन अम्जिलोसा, भोलिपल्ट ग्याप्ला अनि तेस्रो दिन घुन्सा ।’ लट्ठीले घोच्दै विजयजीले पढ्नु भो । मैले फोनमै नोट गरें ।
केहीबेर भित्ता कोपरेपछि लेलेप छेउ कञ्चनजङ्घा संरक्षण क्षेत्रको कार्यालय रहेको ठाउँ पुग्यौं । फुत्त निस्कने बित्तिक्कै एउटा सुन्दर आधुनिक तवरको होटल भेटियो । अघि खाएको सुकुटी र खानाले हामीलाई निक्कै खराएको थियो । त्यसैले हाम्रो लागि बियर र केटाकेटीका लागि कोकाकोला मगायौं ।

आँगनमा ठुलाठुला छातामुनि सजाइएका कुर्सीटेबलमा गएर बस्यौं । बियर पिउँदै गर्दा सम्झें, बाटोभरि खच्चडहरु आफूभन्दा ठुल्ठुला भारी बोकेर हिंडिरहेका थिए, उनीहरूको पछि पछि एकदुई जना नियन्त्रक हुन्थे । केको भारी बोकेका हुन् भाइ यिनीहरूले भनी सोध्दा दोकानको सामान हो भन्थे । सायद यो हामीले पिएको वियर र कोकोकोला पनि तिनै खच्चडले बोकेका होलान् । होटलघर काठकै भए पनि बस्नेखाने हिसाबले राम्रै बनाइएको थियो । नातिनी फुच्चीहरुको भनाइ अनुसार त्यहाँ ऊन कात्दै बस्ने बूढीमान्छे होटल मालिककको जेठी श्रीमती रैछिन्, उता किराना पसलमा हुने कान्छी । मनमनै सोचें, कसरी मिलेर बस्छन् होला ?

एकछिन पछि होटल मालिक आइपुग्यो । विजयजीसँग हात मिलाएर ऊ बात मार्नु थाल्यो । सोध्दै लाँदा त मितेरी साइनोले मामा साइनो लाग्ने रैछ । माथि लेप्चुङबाट त्यहाँ सरेर आएका रैछन् । लेप्चुङमा मेरी जेठी ठुलीआमासँग उहाँको दिदीले मित लगाएकी रहिछिन् । ठुलीआमाको मित भाइ भेटेर खुसि लाग्यो। केही बेर बसेर हामी लेप्चुङतर्फ लाग्यौं । माथि डाँडामा निस्किएपछि याङ्गमाक हिमाल, कञ्चनजङ्घा र लेलेपको गुम्बा मज्जाले देखियो । रमिता हेर्दैहेर्दै तेर्सो लाग्यौं । लेलेप सिरानमा ठुलो पानीधारा थियो । पानी कस्तो पिउन मन लागेर आयो मलाई । छेउमा वाधारा फूलको बोट थियो । त्यसैको पात टिपेर पानी पिएँ । विजयजीले त ‘नखाऊ, पानी जुधेर बिमारी भइन्छ है !’ भनेर सचेत गराउनु भएकै हो तर मैले अटेरी भएर घुट्घुट् पारें । केही छिनमै पेट दुख्न थाल्यो । रोक्न कोसिस गर्दा पनि थाम्न सकिन र कुद्दै गएर झाडीमा बस्नुप¥यो ।

लेलेप छाडेर २५ मिनटजति हिँडेपछि हामी लेप्चुङ्ग पुग्यौँ । सानैदेखि मलाई यो गाउँ मन पर्थ्यो । ठुल्ठुला चट्टान र पहाडमुनि सुन्दर सानो चिटिक्कको गाउँ छ । त्यहाँ अघि चार घर भोटेहरुको बस्ती थियो । तीमध्ये भुपुग्याल्बो नाम गरेको एउटा धनी भोटे मेरो जेठा मामाको मित भएकोले यहाँ हाम्रो आउजाउ हुन्थ्यो । तर, अहिले कुनै पनि घर नचिनिने भइसकेछन् । बाटो मास्तिर भेडा चराउँदै थिए केही गोठाला । ‘भेडाको घ्यु किन्न पाइन्छ ?’ भनी सोध्दा ‘छैन ।’ भने । तेसपछी हामी रमिता हेर्दै खुरुखुरु बाटो लाग्यौं ।
लेप्चुङको डाँडा हिंड्दाहिंड्दै साँझ भयो । लेप्चुङ र फेम्बू बीचको ठूलो मानेडाँडामा बर्सेनी भोटेहरू झन्डा गाडेर लोसार पूजा गर्थे । त्यो ढुङ्गैढुङ्गाको मानेडाँडा बुढोलाई देखाउने ठूलो रहर अँध्यारोले छोपिदियो । खाना जेठा मामाको कान्छी बुहारीले मूलघरमा पकाउने कुरो थियो । हामीले अघि तल तरेको खक्सेवा खोल्सामाथि फेरि तरेर ओरालो लाग्यौं । अलैंची नभएको त ठाउँ नै थिएन । अलैँचीघारी भित्रको सानो बाटोबाट अलैंचीका नरम पातहरू मुसार्दै मुसार्दै ओरालो झर्यौं । मलाई जुकादेखि साह्रै डर लाग्छ । मलाई थाहा छ, अगाडि हिंडें जुका अघि हिंड्नेको गन्धले ब्यूँझन्छ मात्र, त्यस्ले टोक्ने त पछिकोलाई हो । तेसैले म स्वार्थी बनेर चुपचाप अघि लागेँ l

अलैंचीबारी काटेपछि सल्लाघारी आयो । त्यै सल्लाघारीमुनि थियो कान्छा मामाको भत्केको घर । उही सल्लाघारीको नामले चिनिन्थे हाम्रा आमामामा । सबैले ‘सल्लेरी खाल’ भन्थे ।
अघि बिहान अलिक टाढाबाट हेर्दा यै घर थियो मलाई भावुक बनाउने । अहिले नजिक पुग्दा त मेरो सातोपुत्लो उड्यो । मरिसकेको कान्छी माइजु साह्रै जागेर कान्छामामाले यो घर छाडेको भन्थे । मलाई मात्र थाहा होला भनेको त फुच्ची नातीनिहरूले पनि सुनेका रहेछन् । एक्कासि मलाई उछिनेर अघिअघि दौडिए । म झन् डराएर दौडिएँ । दौडको होडबाजी चल्दै थियो, थाहै नपाई जेठा मामाको आँगनमा पुगेछौं ।
यी त अन्धविश्वासका कुरा भए । सांस्कृतिक र मुन्धुमी दृष्टिले कम उन्नत छैन तमोर खोला क्षेत्र । च्याब्रुङ, हाक्पारे, पालाम जस्ता लोकसंस्कृतिका लागि तमोरखोलालाई विशेष मानिन्छ । छिरुवानी, लेलेप, इखाबु आसपासका क्षेत्र धार्मिक रुपले उत्तिकै प्रख्यात छन् । सृष्टिको प्रथम मानव मुजिङ्ना खियङ्नाले सुसुवेन लालावेन नामक सन्तानलाई यही ठाउँमा जन्म दिएको मुन्धुम छ ।

मैले त सानैदेखि यात्रा गरेकी हुँ यो क्षेत्र । कहिले मावल कहिले माइत अर्थात् यही हाँसिखेली हुर्केकी हुँ । तर अब यो क्षेत्र घुम्न चाहनेलाई पदयात्रा खुलेकोमा खुसी लाग्यो ।
एक्लै गए २० देखि २५ हजार जस्तो खर्च होला । समूहमा गए खर्च पनि कम र रमाइलो पनि हुन्छ । काठमाडौंदेखि भद्रपुर प्लेनमा जाने अनि बिर्तामोड गएर बस्ने । भोलिपल्ट बिहान पहिलो गाडीमा नर्थबाट जाने भए ताप्लेजुङ, साउथबाट जाने भए खामदेम्बे या तेल्लोक जाने । त्यहाँबाट गाइडको सहायता लिए पनि हुन्छ, आफै समूहमा गए पनि हुन्छ ।
प्रायः पदयात्री साउथतिरबाट गएर उता नर्थतिरबाट घुम्दै झर्छन्, किनकी दुईतिरै फरक परिवेश, फरक भूगोल र खोलानाला हेर्न र डुल्न पाइन्छन् । त्यसो त वर्षेनी किरात धर्मावलम्बी धार्मिक तीर्थाटनको रुपमा यही पदमार्ग पछ्याउँदै फक्ताङ्लुङ जाने गर्छन् ।
यस पदमार्गको तल्लो क्षेत्र जहाँ लिम्बूहरूको बाहुल्य छ, ती ठाउँमा पर्यटनका लागि त्यति राम्रो व्यवस्था गरिसकिएको छैन । पक्कै भविष्यमा ती क्षेत्र सांस्कृतिक रुपमा पर्यटनको आकर्षक गन्तव्य बन्न सक्छन् ।

एक दिन झनै सुन्दर बन्नेछ तमोरखोला भेग अर्थात् मेरो माइतमावल । यस्तै सम्भावना र सपनामा डुब्दै राडीको आसनमा हामी गफिँदै थियौं । जेठामामाकी कान्छी नातिनी बुहारी अर्थात् मेरी पनि बुहारीले मिठो मेजमान हाम्रो अघि टक्राई हालिन् ।
साँझ छिप्पिँदै थियो । बाख्राको पाठा झैं मावलमा खेल्दै थिएँ । तर, हामी चाँडै फर्कनु थियो माइत गाउँ— इखाबु जहाँ दिवङ्गत बाजेबोजुको नाममा निर्मीत चौताराका बर पीपलको बिहे गराई दिनु थियो ।

-ताप्लेजुङ्ग हालः बेलायत