कविताः बुद्धिजीवी आयो

377

-राजकुमार लामिछाने ‘प्रीन्स’
लौ आयो आयो आयो
बुद्धिजीवी आयो
त्यस्ले खायो उस्ले खायो
लाज नभका भन्दै चिच्यायो
बुझो पाए चुप लायो
नत्र,
धोती फुस्किदा नि
आफै लाज पचायो
उ आयो आयो आयो
बुद्धिजीवी आयो
माइक एउटा, एउटै होस क्यामरा
पाए झै गर्दै बिश्वकै मंच सारा
चिम्सा नजर डुलाउदै
घोक्रो फुलाउदै
टर्यो स्वरमा बुरुक्क उफ्रदै करायो
लौ हेर है बुद्धिजीवी आयो
टोपी लाउछ कहिले
गर्छ टोपिकै चर्चा
टोपी नपाओस त अनि
टोपी बिरुध्दै छर्छ पर्चा
टोपी लाउदा नि उ बुद्धिजीवी
टोपी नपाउदा नि उ बुद्धिजीवी
चुरोट खानु हुन्न भन्दै सिगरेट खायो
लौ हेर मेरो देशको बुद्धिजीवी आयो ।

बिहान कानुनको ज्ञाता बन्छ
दिउँसो अर्थतन्त्रको खाता भन्छ
साझ राजनितिको भबिस्यबाणी गर्छ
अलिकती रात बढेको होस
हल्का मात चढेको होस
तारामण्डलको तारा नै गन्न भ्याउछ
युट्युवकै झ्यालबाट
व्हाइट हाउसमा के भाको च्याउन भ्याउछ
ए बाबा अरु कुरो छोड्दिनु
काठमाडौ मै बसेर
काँकडभिट्टामा कुकुर कसरी ब्यायो
बाह्र थरी प्रमाण ल्याउछ
मिलोस नमिलोस उस्ले जे बोले नि पायो
लौ आयो आयो आयो
मेरो देशको बुद्धिजीवी आयो ।

उ बुद्धिजीवी मात्र हैन
बुद्धिजीवीको जननी पनि हो
उस्कै तर्क समातेर चियापसलमा
अर्को बुद्धिजीवीले जन्मलिनी हो
भट्टिमा पनि उस्कै बुद्धि फुलिरहेको हुन्छ
घरको भान्सा देखि तपाइको बेडसम्म
उस्कै बुद्धि डुलिरहेको हुन्छ
बिहान मुसुक्क हाँसेका दम्पती
बेलुका ठुसुक्क बम्किन सक्छन
बिहान आज्ञा पालन गर्ने सन्तान
बेलुका अंश माग्दै चम्किन सक्छन
लौ हेर्दै हेर्दै बुद्धिजीवीको प्रभाव छायो
खै अलि उता सर्नुस , बुद्धिजीवी आयो ।

पढ्नु पर्दैन गुन्नु पर्दैन
उस्ले अरुको भनाइ सुन्नु पर्दैन
तथ्य, तथ्यांक गोलि मार्दे हुन्छ
शालिन शब्द नि चुन्नु पर्दैन
बस गाली आए पुग्छ
आफ्नै भरौटेको ताली पाए पुग्छ
भ्रम छर्न सक्नुपर्यो
ट्रेण्डिङ्गमा पर्न सक्नुपर्यो
अलि उपल्लो वर्ण भए
दुतावासको नि टाइ लायो
यो चै टक सो मा छाउछ
खोइ रिमोट कहाँ हरायो
यहाँ बुद्धिजीवी आयो ।।

चाँगुनारायण नपा- ६ नगरकोट
२०७७ असोज २९