आइसीयू र भेन्टिलेटर मात्रै होइन अब अक्सिजनको अभाव हुन थाल्यो

205

असोज २९,
काठमाडौं । कोभिड–१९ का लक्षणसहितका बिरामीको संख्या बढ्दै गर्दा अस्पतालको शैय्या भरिन थालेको छ । आइसीयू र भेन्टिलेटरको अभाव त छदैं छ अब अक्सिजनको समेत अभाव हुन थालेको छ । कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालहरूमा बिरामीको चाप बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको लक्षणसहितका बिरामी बढ्दै गए आगामी दिनमा अस्पतालहरूले धान्न नसक्ने बताउँदै आएको छ । संक्रमितमा ज्वरो, रुघा–खोकी, श्वासप्रश्वासमा समस्या, जिउ दुख्ने, स्वाद अथवा गन्ध थाहा नपाउने आदि लक्षण देखिएर धेरै गाह्रो भएमा मात्रै अस्पताल आउन मन्त्रालयले आग्रह गरिरहँदा बिरामीले सहज रुपमा बेड पाउन सकेका छैनन् ।

काठमाडौं उपत्यकाका अस्पतालहरूमा कोभिड–१९ का गम्भीर बिरामीको उपचारका लागि जम्मा २ सय ३९ आइसीयू बेड छ भने भेन्टिलेटर १०७ वटा रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । हाल काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा कोभिड–१९ का बिरामीमध्ये १ सय २७ जना आइसीयूमा र ४९ जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै, प्रदेश १ मा आइसीयूमा ३९ र भेन्टिलेटरमा ८ जना छन् भने प्रदेश २ मा आइसीयूमा १९ र भेन्टिलेटरमा एक जना बिरामी उपचाररत छन् । बाग्मती प्रदेशमा आइसीयूमा १ सय ६६ जना रहेको मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेशमा कोभिड–१९ का ६ जना बिरामी आइसीयूमा उपचाररत छन् भने लुम्बिनी प्रदेशमा ५३ जना आइसीयूमा र दुई जना भेन्टिलेटरमा छन् ।

यस्तै, कर्णाली प्रदेशमा कोभिड–१९ का १८ जना बिरामी आइसीयूमा छन् भने सुदुरपश्चिम प्रदेशमा ४ जना आइसियूमा र ३ जना भेन्टिलेटरमा उपचाररत छन् । यसरी कोभिड–१९ का बिरामीमध्ये देशभर ३०५ जनाको आइसीयूमा र ७० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । कोभिड–१९ का लक्षणसहितका बिरामीको संख्या बढ्दै गर्दा अस्पतालको शैय्या भरिन थालेको छ भने आइसीयू र भेन्टिलेटरको समेत अभाव हुन थालेको छ । संक्रमितमा ज्वरो, रुघा–खोकी, श्वासप्रश्वासमा समस्या, जिउ दुख्ने, स्वाद अथवा गन्ध थाहा नपाउने आदि लक्षण देखिएर धेरै गाह्रो भएमा मात्रै अस्पताल आउन मन्त्रालयले आग्रह गरिरहँदा बिरामीले सहज रुपमा बेड पाउन सकेका छैनन् ।