कविताः शिक्षक

412

-विदुरप्रसाद तिमिल्सिना

पस्कदा विचार आफ्ना खुब काठी कस्ने
सबैतिरको तिरस्कार सहेर नै बस्ने ।

जलेर मैनबत्तीझैँ दीप सदैव छर्दा
आफू खुशी हुन्छन् ज्ञान भकारी भर्दा ।

मारेर डुबुल्की ज्ञानको समुन्द्रमा जाँदा
विद्वत्ता विद्वान् बनाई समाजमा लाँदा ।

जीवनका अनेक मोडमा सङ्कट झेल्दा
सहज जीवनका पक्षमा शिक्षकले खेल्दा ।

हुन्छन् खुशी सिकारु असल दिशा पाउँदा
आनन्द पाउँछ जसरी भक्त मन्दिर धाउँदा ।

जीवनका हर मोडमा रङ खुशीको छर्दै
सिकारु गर्छन् नमन अन्तस्करण भर्दै ।

मर्यादित काम बनाउन शिक्षक नै लागौँ
सिकाउने तरिका नभए कामलाई त्यागौँ ।।