भक्तपुरमा लुटेराले यसरी गर्दथे लुटपाट, ५ जना पक्राउ

201

असोज ९,
भक्तपुर । प्रहरीले डलर देखाई लुटपाट गर्ने समुहलाई पक्राउ गरेको छ । महानगरिय प्रहरी परिसर भक्तपुरले उक्त समुहका पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भई हाल काठमाडौं गोकर्णेश्वर न.पा. १ बस्ने वर्ष ३६ को खेल बहादुर तामाङ,सोहीठेगाना भएको वर्ष ३३ को रेल बहादुर तामाङ रहेको छ । सिन्धुपाल्चोक बाह्रबिसे न.पा. ६ घर भई हाल भक्तपुर जिल्ला मध्यपुरठिमी न.पा. वडा नं. ९ बस्ने वर्ष ५६ को श्याम बहादुर तामाङ, सोही ठेगानाको वर्ष २५ को रामकृष्ण तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुपाल्चोक बाह्रबिसे न.पा. ६ घर भई हाल भक्तपुर जिल्ला मध्यपुरठिमी न.पा. वडा नं. ९ बस्ने वर्ष ३२ की कान्छी तामाङ रहेकी छिन् ।

प्रहरीको अनुसन्धानबाट उनीहरुले विगत केही समयदेखी व्यापारी, व्यावसायी तथा विदेशबाट फर्किएका व्यक्तीहरूलाई फोन गरि पहिला देखिनै चिनजान भएको जस्तो व्यवहार गर्दै लुटपाट गर्ने गरेको खुलेको छ । आफु सँग प्रशस्त मात्रामा अमेरिकन डलर रहेको र सो डलर सस्तोमा साटिदिन्छु भनि बिभिन्न बहाना बनाएर अमेरिकन डलर देखाई नेपाली रुपैया लुटपाटका घटेदै आएको प्रहरीको भनाई छ ।
उक्त समुह असोज ८ गते सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट स्थित रोज भिलेज नजिकबाट काठमाडौ धापासी बस्ने व्यक्तिलाई डलर देखाई नेपाली ५ लाख रुपैंया लुटी फरार भएका थिए ।
खोजतलास गर्दै जाँदा शुक्रबार मध्यपुरठिमी न.पा. वडा नं. ९ बाट ८ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको प्रहरी परिसरका नि.सूचना अधिकारी प्रहरी निरिक्षक सुवास बुढाथोकीले बताए ।
अनुसन्धान पश्चात ३ जना व्यक्तिहरुको संलग्नता नदेखिएका लाई आजकै मितिमा छाडिएको तथा घटनामा संलग्नता देखिएका बाँकि ५ जना व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

विभिन्न स्थानमा लुटपाट
प्रहरीले उनीहरुको साथबाट नेपाली रुपैंया २ लाख ४२ हजार ९३५, बिभिन्न कम्पनीका मोबाईल ५ थान, मोटरसाइकल २ थान, डलर भनि झुक्काउन तयार गरिएको कागजको बिटो – २ बण्डल बरामद गरेको छ । उक्त समुहले साउन ८ गते मध्यपुरथिमि वडा नं. ९ बोडेमा ३ लाख लुटपाट गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । साउन १९ गते मध्यपुरथिमि नगरपालिका वडा नं. ५ बोडेमा ४ लाख लुटेका थिए । भदौं ३१गते ध्यपुरकै बोडेमा ५ लाख, असोज ६ गते मध्यपुरथिमि नगरपालिका वडा नं. ९ बोडेमा ९ लाख ८० हजार र सूर्यविनायक न.पा. ०२, बालकोट, रोजभिलेज नजिक ५ लाख रुपैयाँ लुटपाट गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । यस बारेमा थप अनुसन्धान भईरहेको साथै घटनामा संलग्न भई फरार रहेका अन्य व्यक्तिहरुको खोजतलास भईरहेको नि.सूचना अधिकारी प्रहरी निरिक्षक बुढोथोकीले जानकारी दिएका छन् ।