बढाइएको गाडी भाडादर खारेज गर्न विद्यार्थी संगठनको अल्टिमेटम

240

असोज ७,
काठमाडौं । सरकारले सार्वजनिक यातायातमा वृद्धि गरेको ५० प्रतिशत भाडादर खारेज गर्न १३ विद्यार्थी संगठनले माग गरेका छन्। लामो तथा छोटो दूरीका सवारी साधनमा आधा मात्रै यात्रु राखेर ५० प्रतिशत भाडा वृद्धि गरिएकोमा बढाइएको भाडादर खारेज गर्न उनीहरूले माग गरेका हुन्। संयूक्त विद्यार्थी संगठनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई सात दिने अल्टिमेटमसहित मागपत्र बुझाएको नेविसंघ महामन्त्री दिपक भट्टराईले जानकारी दिए । हवाइजहाजमा पूर्ण क्षमतामा यात्रु राख्न दिएको तर सार्वजनिक बसहरूमा आधा मात्रै यात्रु चढाउने निर्णय अपरिपक्व र अव्यवहारिक भएको विद्यार्थी संगठनको ठहर छ ।

विद्यार्थीले ५० प्रतिशत बढेको भाडा तिर्न नसक्ने उनीहरूको भनाइ छ। बढाइएको भाडा खारेज गर्दै विद्यार्थीलाई सहुलियत दिन पनि विद्यार्थी संगठनको माग छ । महामन्त्री भट्टराईले हवाइजहाजमा पूर्ण क्षमतामा यात्रु राख्न दिनु र सार्वजनिक बसहरूमा आधा मात्रै यात्रु राख्न दिएर ५० प्रतिशत भाडा वृद्धि गर्नुले सरकार कुन वर्गको हित चाहन्छ भन्ने प्रष्ट भएको बताए ।