नेकपाको बैठक बसेनः ओली व्यस्त, प्रचण्ड चितवनतिर

422

असोज २,
काठमाडौं । पूर्वमाओवादीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा पार्टी एकतापछि पहिलोपटक सचिवालय बैठक बस्ने तय भएको थियो । तर, प्रधानमन्त्री केपी ओलीले संविधान दिवससम्बन्धी कार्यक्रमको व्यस्तता देखाएपछि स्थगित भयो । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार  प्रधानमन्त्री ओलीले व्यस्तता देखाएका कारण स्थगित भएको हो । बैठक स्थगित गरेर प्रचण्ड चितवन लागेका छन् ।
पेरिसडाँडामा अहिलेसम्म केन्द्रीय स्तरको बैठक बसेको छैन । गत वर्ष नेकपाको अन्तर्राष्ट्रिय विभागले विज्ञसँग छलफल कार्यक्रम राखेको थियो । त्यसबाहेक जनवर्गीय संगठनका केही बैठक मात्रै भएको छ । पार्टी एकतालगत्तै दुई अध्यक्ष धुम्बाराही र पेरिसडाँडाको कार्यालयमा पुगेर केहीबेर बसेबाहेक ओली पेरिसडाँडा पुगेका छैनन् । त्यसो त केही बैठक पूर्वएमालेको केन्द्रीय कार्यालय रहेको धुम्बाराहीमा बस्यो, नत्र अधिकांश बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमै गरियो । 

स्थायी समितिको बैठकले नै मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने प्रस्ताव पारित गरेका कारण प्रधानमन्त्री ओली पुनर्गठनको दबाबमा छन् । खासगरी रिक्त मन्त्रालय मात्रै मन्त्री थप गर्ने कि पूरै सेट परिवर्तन गर्ने प्रष्ट मत नेकपामा बनिसकेको छैन । त्यसमा प्रचण्ड, ओली र माधव नेपाल आफूलाई बलियो बनाउने गरी मन्त्रीहरू हेरफेर गर्न चाहन्छन् । त्यससँगै संवैधानिक परिषद्का नियुक्तिहरूमा पनि हातेमालो खोजिरहेका छन् । 

असोजको सचिवालय बैठक भने पार्टी कार्यालयमै गर्नुपर्ने मत प्रचण्डले राखेका थिए । प्रचण्डको मतमा ओली सहमत थिए । तर, धुम्बाराहीको कार्यालय बैठकका लागि तत्काल उपयुक्त  नभएको भन्दै प्रचण्डले पेरिसडाँडाले प्रस्ताव गरेका थिए । त्यसमा ओली सहमत भएका थिए । बैठकमा सरकारी नियुक्ति, संवैधानिक नियुक्ति, मन्त्रिपरिषद् पुर्नगठनको एजेण्डासमेत छलफल हुने अनुमान गरिएको थियो । कतिपयले त्यसलाई धकेल्न पनि ओलीले समय नमिलाएको अड्कल गरिएको छ । 
रूपन्देही पुगेर सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक साताभित्र मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका छन् ।