नेकपाको निर्देशनः नेताका नाममा खोलिएका प्रतिष्ठानले कुनै गतिविधि नगर्नु

85

भदौं ३०
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । पार्टीले अन्तरपार्टी निर्देशन –५ जारी गर्दै पार्टीका नेताका नाममा स्थापना भएका प्रतिष्ठान, फाउण्डेशन, अध्ययन केन्द्र जस्ता संस्थालाई प्रदेश, जिल्ला, र स्थानीय तहमा कुनै पनि शाखा गठन र गविविधि गर्न रोक लगाउने निर्देशन दिएको हो ।
नेकपाले ती नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसंस्थामध्ये अधिकांशले पार्टीभित्र गुटबन्दी गर्न थालेपछि अन्तरपार्टी निर्देशन – ५ मा रोक लगाउने निर्देशन दिएको हो । केन्द्रमा भने कुनै रोक लगाइएको छैन । पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारी, जीवराज आश्रित, नरबहादुर कर्माचार्य, निर्मल लामा, सुरेश वाग्ले, कृष्णसेन इच्छुक मोतीदेवी, सहाना प्रधान, झलनाथ खनाललगायत नाममा त्यस्ता संस्था खोलिएका छन् । तिनमध्ये केहीका केन्द्रमा मात्र र केहीका जिल्लाहरुमा पनि शाखा खोलिएका छन् ।

“पार्टीका विभिन्न नेताका नाममा विभिन्न प्रतिष्ठान वा संघसंस्थाहरु परिचालित छन् । तीमध्ये अधिकांश गुटबन्दीको माध्यम बन्दै गएका छन् । गुटबन्दी रोक्न प्रतिष्ठानलाई नियमन गर्न जरुरी छ”, अन्तरपार्टी निर्देशन – ५ मा भनिएको छ । पार्टी सचिवालय बैठकले प्रतिष्ठानसम्बन्धी अध्ययन गर्न कार्यदल बनाएर प्रतिवेदन सार्वजनिक नगरेसम्म तिनका शाखा गठन र गतिविधि नगर्न निर्देशन दिएको हो ।

अन्तरपार्टी निर्देशन – ५ मा सचिवालयले प्रतिष्ठानको सञ्चालन, व्यवस्थापन तथा नियमन विधि निश्चित गर्न स्पष्ट कार्यादेशसहितको कार्यदल गठन गर्ने उल्लेख गरिएको छ । कार्यदलको प्रतिवेदन प्राप्त भएपछि त्यसमाथि छलफल गरी प्रतिष्ठानबारे आवश्यक निर्णय गर्ने जनाइएको छ । नेकपा स्थायी कमिटी सदस्य वेदुराम भुसालले नेताका नाममा प्रतिष्ठान खोल्नु राम्रो भए पनि त्यसबाट पार्टीलाई नै नोक्सान पुर्‍याउने किसिमको गुटबन्दी गर्न नहुने बताए ।