भदौ २५,
पोखरा । कोरोना भाइरसविषयमा अफवाह फैलाएको अभियोगमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पर्वतको मोदी गाउँपालिका-७ घर भई हाल कास्कीको पोखरा महानगरपालिका-५ बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर घर भई हाल पोखरा महानगरपालिका- ९ नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साललाई प्रहरीले पक्राउ गरेको हो । पीसीआर टेस्टको रिपोर्ट उलटपुलट गरी सामाजिक सञ्जालमा पोस्ट गरेर अफवाह फैलाएको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । दुवै जनाविरुद्ध झुट्टा अफवाह फैलाउन नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।














